८९ लाख सरकारी अनुदानको भएन सदुपयोग

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

करिब ८९ लाख रुपैयाँ कृषि अनुदानको सही सदुपयोग हुन सकेको छैन । राजापुर नगरपालिका– ३, टेरियामा रहेको दिदीबहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई दिइएको ८८ लाख ५० हजार रुपैयाँ अनुदानको सही सदुपयोग हुन नसकेको हो ।

राजापुर र ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकालाई सरकारले चैते धान जोन घोषणा गरेको छ । सरकारले लगानी गरेसँगै धानको उत्पादन बढेको छ । उत्पादन बढेसँगै धान प्रशोधन गरी चिउरा र भुजा बनाउन करिब पाँच वर्षअघि ५० प्रतिशत अनुदानमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइले दिदीबहिनी साना किसान कृषि सहकारीलाई ७० लाख र १८ लाख ५० हजार गरी कुल ८८ लाख ५० हजार रुपैयाँ अनुदान प्रदान गरेको थियो ।

सहकारी संस्थाले मिल सञ्चालन गर्न नसकेपछि अनुदान ‘बालुवामा पानी’ भएको हो । करिब पाँच वर्ष हुँदासमेत मिल सञ्चालन हुन सकेको छैन । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ बर्दियाका वरिष्ठ कृषि अधिकृत वीरेन्द्रराज पराजुलीले अनुदानप्राप्त सहकारी संस्थासँग बसेर कसरी मिल सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको बताए । उनले भने, ‘चिउरा मिल सञ्चालन गर्नका लागि कार्यालय लागिरहेको छ ।’ दिदीबहिनी साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष नीता थापाले करिब पाँच वर्षअगाडि अनुदान प्राप्त भएपछि एकपटक मात्र मिल सञ्चालनमा आएको बताइन् । उनले भनिन्, ‘प्राविधिक कारणले मिल सञ्चालन गर्न नसके पनि आगामी वर्षबाट मिल सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।’

सरकारले दिँदै आएको अनुदानको नियमित अनुगमन र दिगोपना नहुँदा अनुदानको सही सदुपयोग नभएको भन्दै आलोचना हुँदै आएको छ ।

See More On

सुझावित समाचार