पर्वतमा ट्याक्टर दुर्घटना : चालकसहित दुईजनाको मृत्यु, एक घाइते

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

पर्वत जिल्लाको कुश्मा नगरपालिका–९, एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा शनिबार ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

शनिबार दिउँसो करिब २:३० बजे कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टरचालक पर्वतको कुश्मा नगरपालिका–७ निवासी अन्दाजी २८ वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका–९, साइकलचोकनिवासी अन्दाजी १४ वर्षीय शिशिर लामिछाने गम्भीर घाइते भएका थिए। दुवैजनाको उपचारका क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१७, बिरौटामा बस्दै आएका २२ वर्षीय उदय सापकोटाको प्रदेश अस्पताल, कुश्मामा उपचार भइरहेको छ।

दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुझावित समाचार