धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ३ र ४ का तल्लो भू–भागमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ। वडा नम्बरको ३ ताङ्खुवाको बञ्चरे, सिभुवा तथा वडा नम्बर ४ तेलियाको पाथीभरा, पिप्ले, मार्सेलगायतका क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ्चालन गरिएको हो। बसाइँसराइका कारण बाँझो रहेको जमिनलाई व्यावसायिक कृषि उत्पादन केन्द्रका रूपमा विकास गर्ने योजनाका साथ आँप ब्लक विकास कार्यक्रम अघि सारिएको हो।
छथर जोरपाटी गाउँपालिका र कृषि ज्ञान केन्द्र धनकुटाले स्थानीय किसानहरूसँगको लागत साझेदारीमा करिब एक हजार दुई सय रोपनी क्षेत्रफलमा आँप खेती विस्तार गर्ने योजना रहेको छ। आँप ब्लक विकास कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि किसानहरूलाई ६ हजार मालदह जातको आँपका बिरुवा वितरण गरिएको छ।
बसाइँसराइका कारण खाली रहेको जमिनलाई सदुपयोग गर्दै व्यावसायिक कृषि उत्पादन केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले किसानको लागत साझेदारीमा आँप ब्लक विकास कार्यक्रम सो क्षेत्रमा सुरु गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताए। सो कार्यक्रम सञ्चालनका लागि सरकारको १० लाख रुपैयाँ अनुदान र स्थानीय किसानहरूको ६ लाख २५ हजार रुपैयाँ लागत साझेदारी रहेको छ।
उक्त कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि स्थानीय समावेशी सक्रिय कृषि सहकारी संस्थामार्फत आँपका बिरुवासँगै चारवटा यान्त्रिक हलो र नाै हजार तीन सय मिटर प्लास्टिकको पाइप पनि उपलब्ध गराइएको छ । परम्परागत खेती प्रणाली कमजोर बन्दै गएको र किसानहरूलाई दीर्घकालीन आम्दानी दिने बहुवर्षीय बालीतर्फ आकर्षित गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको समावेशी सक्रिय कृषि सहकारी संस्थाका अध्यक्ष डेकबहादुर लिम्बूले बताए।
बाँदरलगायत अन्य जंगली जनावरहरूले दुःख दिएपछि छथर जोरपाटीको बञ्चरे, सिभुवा, पाथीभरा, लामिछानेडाँडा, गुठ, पिल्ले, कर्कले, मार्से क्षेत्रमा बसाइँसराइको दर उच्च रहेको छ। त्यसैले, त्यसक्षेत्रको खाली जमिनमा विकल्पको रूपमा आँप ब्लक विकास कार्यक्रम सञ्चालन गरिएको हो।