चीनको इतिहास बदलेको युतु किनारमा उभिँदा...

रेड आर्मीको लङ मार्च प्रस्थानस्थल आधुनिक चीनमा क्रान्तिकारी इतिहासको केन्द्र बनेको छ

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

गत असार १७ गते बुधबा चीनको पूर्वी प्रान्त चियाङसीस्थित युतु नदी किनारमा विशेष चहलपहल थियो । किशोर, तन्नेरी र वृद्धवृद्धासमेत एउटा स्मारकसामु उभिएका थिए । उनीहरूका लागि त्यो एक विशेष तीर्थस्थलजस्तै थियो, जसरी नेपालमा हिन्दु–बौद्ध धर्मावलम्बी मन्दिर र गुम्बा धाउँछन् ।

चाङकौ सहरसँगै जोडिएको युतु नदी किनारमा उभिएको एउटा स्तम्भले हामीलाई ९० वर्षअगाडि डोर्‍याएर लैजान्छ । जुन वेलामा माओ त्सेतुङको तेतृत्वमा चिनियाँ जनक्रान्ति थालिएको थियो । त्यस दिनको संयोग कस्तो पर्‍यो भने चीनलाई अहिले वैभवको बाटोमा डोर्‍याइरहेको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले १०५औँ वार्षिकोत्सव मनाइरहेको थियो । सिपिसी सन् १९२१ जुलाई १ मा स्थापना भएको विश्वकै पुरानो कम्युनिस्ट पार्टीमध्ये एक हो । उता उसैले थालेको चिनियाँ जनक्रान्तिका क्रममा रेड आर्मीले तत्कालीन च्याङ काई सेकको राष्ट्रवादी सेनाविरुद्ध १८ अक्टोबर १९३४ मा लङ मार्च सुरु गरेको थियो । माओ त्सेतुङ नेतृत्वको रेड आर्मीले लङ मार्च सुरु गरेको त्यही युतु नदी किनारको स्मारक अहिले नयाँ पुस्ताका चिनियाँका लागि समेत तीर्थस्थल बनेको छ ।

असार १७ को मध्य दिउँसो एकपछि अर्को चिनियाँहरू हुलका हुल स्मारक अगाडि जम्मा हुँदै थिए । त्यही हुलमा नेपालसहित विश्वका विभिन्न देशबाट बोलाइएका पत्रकार र कम्युनिस्ट नेता मिसिए । पथप्रदर्शकले डोर्‍याउँदै उक्त स्मारकको वर्णन गर्दै गर्दा एक हुल चिनियाँ स्कुले तन्नेरी रातो टोपीसहित आइपुगे । स्मारकअगाडिको पटागिंनीमा लामबद्ध उनीहरू रेड स्यालुटसहित रेडआर्मीको सम्झनामा गीत गाउन थाले । जेन–जी पुस्ताका समेत युवाको उक्त समूहलाई एकजना शिक्षकले नेतृत्व गरेका थिए । शिक्षकले सबै कुरा व्याख्या गरिसकेपछि उनीहरू दाहिने हात उठाएर रेड आर्मीलाई अभिवादनमा जुटे ।

जेन–जी विद्यार्थीसहितको समूह त्यहाँबाट ओझेल पर्न नपाउँदै प्रौढ देखिनेहरूको समूह आइपुग्यो । उनीहरू पनि तीर्थयात्रीले नेपालका मठमन्दिरमा पुग्दा नतमस्तक भएको शैलीमा स्मारकसामु उभिए । दाहिने मुट्ठी कसिलो बनाएर उठाउँदै उनीहरूले करिब एक मिनेट चिनियाँ भाषामा क्रान्तिकारी गीत गुन्जाए । हेर्दाहेर्दै एकपछि अर्को समूह उक्त स्मारकमा आइरह्यो । एक अर्बभन्दा बढी सदस्य भएको सिपिसीप्रति बफादार उनीहरू रेड आर्मीको बलमा फेरिएको चीनले अहिले गरेको प्रगतिप्रति गौरवान्वित देखिए ।

‘हेर्नुस्, हामी हाम्रो इतिहासप्रति गौरव गर्छौँ । हाम्रो देशको इतिहास बदल्न रेड आर्मीले गरेको लङमार्चप्रति हामी नयाँ पुस्ता पनि नतमस्तक छौँ । पश्चिमाहरूले चीन र हामीबारे के भन्छन्, हामीलाई सरोकार छैन’, स्मारकसामु कसिलो मुट्ठी कसेर अभिवादन गरेपछि २४ वर्षीय चिउ हाइनिङले भने, ‘हामी गरिबीबाट माथि उठिसकेका छौँ । रेड आर्मीकै लङमार्चको स्पिरिटमा अहिले सी चिनफिङको नेतृत्वमा चीन सबै कुरामा विश्वमै अग्रणी स्थानमा छ ।’

उनीजस्तै नयाँ पुस्ताले गर्व गर्नलायक बनेको छ यो स्मारक । लङ मार्च विजयको ६०औँ वार्षिकोत्सवका अवसरमा युतु काउन्टी सरकारले रेड आर्मी प्रस्थान स्मारक पार्क बनाएको हो । लङ मार्च सुरु भएको ७० वर्ष पुगेको अवसरमा सन् २००४ मा केन्द्रीय रेड आर्मीको लङ मार्च प्रस्थान स्मृति संग्रहालय बनाइयो । करिब ३,८०० वर्गमिटर क्षेत्रफलको यस संग्रहालय भवनमा लङ मार्चसम्बन्धी ऐतिहासिक सामग्री, दस्तावेज, तस्बिर प्रदर्शनीमा राखिएका छन् ।

सन् २००९ मा यसलाई थप विस्तार गरी केन्द्रीय रेड आर्मी लङ मार्च प्रस्थान स्मृति पार्क बनाइयो । पार्कभित्र प्रवेश चोक, विषयगत मूर्ति, सैनिकहरूको भेला हुने खुला मैदान, प्रस्थान स्मारक, नदीघाट तथा अन्य संरचना बनाइएका छन् । प्रस्थान स्मारकको उचाइ १९.३४ मिटर छ, जसले सन् १९३४ को ऐतिहासिक वर्षलाई जनाउँछ । स्मारक दुईवटा पालाजस्तै आकारमा बनाइएको छ, जसले लङ मार्चमा निस्किएको रेड आर्मीलाई बुझाउँछ । जहाँ तीनवटा विशाल मूर्ति कुँदिएका छन् । जसले युद्धमा रेड आर्मीको भेला, नदी पार गरेर प्रस्थान र जनताको सेवामा समर्पित रेड आर्मीलाई बुझाउँछ । स्मारकका रेलिङमा रेड आर्मीले प्रयोग गरेका आठवटा ऐतिहासिक नदी घाटको नाम कुँदिएको छ । जसप्रति चीनका नयाँ पुस्ता पनि सम्मानका साथ गर्व गर्छन् ।

आफ्नो इतिहासप्रति गर्व र वर्तमान नेतृत्वप्रति गर्वसहित चिनियाँहरूले मुट्ठी उठाएर गीतका भाका टुंग्याउँदै गर्दा भर्खरै भर्ती भएको चिनियाँ प्रहरीको स्थानीय युनिट रेड आर्मीको स्मारकमा स्यालुट गर्न आइपुग्यो । बर्दीमै सजिएर आइपुगेका उनीहरूलाई स्मारकसामु जम्मा भएका अन्यले पनि सम्मान व्यक्त गरे । तीन नयाँ भर्ना भएका प्रहरीले कसिलो मुट्ठीसहित रेड आर्मीलाई स्यालुट गरेर श्रद्धाञ्जलीसहित अघि बढेपछि हाम्रो टोली पनि युतु नदी किनारतिर सोझियो । जहाँ रेड आर्मीकै पोसाकमा सजिएका कलाकारहरू कोमिन्ताङ सेनाविरूद्ध युद्धमा जान तम्तयार भएको नाटकलाई जीवन्त शैलीमा देखाउन तयार थिए । रेड आर्मीको सम्झनामा अहिले पनि युतु नदीमा एउटा काठे फेरी तैरिरहेको छ । शताब्दिऔँ पुरानो एउटा ढुंगोनजिकै युतु नदीमा तैरिरहेको उक्त फेरी त्यसवेला रेड आर्मीका लागि काठले बनाइएको थियो । जसलाई चीन सरकारले नयाँ पुस्ताका लागि अझै पनि नदीमा तैर्‍याएर राखेको छ ।

त्यही तैरिरहेको फेरीसामु चिनियाँ कलाकारहरू रेड आर्मीको पहिलो पाइलालाई ताजा बनाउन नाटक देखाउन तम्तयार थिए । सन् १९३४ मा रेड आर्मीले लगाउने त्यस बेलाको तारासहितको टोपी र पोशकमा सजिएका उनीहरू जब आफ्नो भूमिका जीवन्त उत्रिन थाले, तब त्यहाँ उपस्थित दर्शकका आँखा भिज्न थाले । चिनियाँ भाषामा देखाइएको नाटकले मलाई भने नेपालमा माओवादीले चलाएको १० वर्षे जनयुद्धतिर फर्काइदियो ।

नेपालको जनयुद्ध पनि त माओ त्सेतुङ नेतृत्वका रेड आर्मीकै प्रेरणामा अघि बढेको थियो । फरक यति हो चीनमा रेड आर्मीले १२ हजार ५ सय किलोमिटर लामो लङमार्च गर्दै देशको इतिहास बदले भने नेपालमा माओवादीले ‘...हामी राता मान्छेहरू’ गीत घन्काएर १० वर्षे जनयुद्ध चलाए । यिनै रेड आर्मीका कमान्डर माओ त्सेतुङकै विचारधारा अँगालेर पुष्पकम दाहाल प्रचण्ड नेतृत्वमा नेपालमा १० वर्षे जनयुद्ध भएको थियो । सन् १९३४ मा भएको चिनियाँ रेड आर्मीको लङ मार्च अहिले पनि गर्वको विषय बनिरहँदा यता नेपालमा भने प्रचण्डले जनयुद्धका उपलब्धिलाई संस्थागत गर्न चुक्दा दुत्कार्ने अवस्था आएको छ । सिपिसीले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनाइरहँदा यता माओवादी आफ्नो अस्तित्वको लडाइँमा छ ।

युतु नदी किनारमा क्रान्तिका लागि पहिलो पाइला नाप्न तयार योद्धालाई उनका परिवारका कोही सदस्य खाजा लिएर आएका थिए भने कोही दुधेबालकसहित आफ्ना पतिलाई बिदा गर्दै गरेका देखिए । युद्धका लागि आफ्ना परिवारका सदस्यलाई पठाउँदा फर्किने नफर्किने ग्यारेन्टी नभएको अवस्थामा आफन्तहरू अन्तिमपटक कसिलो अंकमाल गरिरहेका थिए । सन् १९३४ तिर फर्काएको नाटकले त्यहाँ उपस्थित स्वदेशी तथा विदेशीको आँखा चिस्याइसकेको थिया युतुे । उनीहरू राता झण्डासहित अभिनयमा डुबिरहँदा उता युतु किनारमा रेड आर्मीलाई पर्खेर फेरी तैरिरहेको थियो ।

यता मलाई भने चिनियाँ जनक्रान्तिबारे त्यो नाटकले जनयुद्धकालीन नेपालका गाउँघरमा पुर्‍याइसकेको थियो । जनयुद्धताका नेपालका गाउँघरमा क्रान्तिकारी गीत घन्किन्थे, जनकलाकार नाच्थे, गाउँथे, कैयौँ युवाहरू त्यसैबाट प्रभावित भएर हतियार बोक्दै माओवादी जनसेनामा लामबद्ध हुन्थे । तर, माओवादीको त्यो क्रान्ति १० वर्षमै रणनीतिक प्रत्याक्रणको चरणमा पुगेर शान्ति प्रक्रियामा फर्कियो, प्रचण्ड र डा. बाबुराम भट्टराईसहितले हतियार छाडेर खुला राजनीतिको बाटो समाते । तर, त्यो माओ त्सेतुङ प्रेरित मााओवादी २० वर्षमै बिलुप्त हुने बिन्दुमा पुगेको छ ।

सिपिसीको १०५औँ वार्षिकोत्सव एक अर्बभन्दा बढी सदस्यले मनाइरहँदा नेपालमा माओवादी अस्तित्व संकटको डिलमा छ । प्रचण्डले चुनाव जित्नैका लागि हरेकपटक निर्वाचन क्षेत्र छाड्नुपरेको छ । माओवादीले २०६४ सालको चुनावमा २२९ सिट जितेर पनि अवसरलाई खेर फ्याँक्यो । शक्तिशाली पार्टीबाट प्रधानमन्त्री बनेका प्रचण्ड जनजीविकाका मुद्दा छाडेर रुक्माङगत कटुवाल हटाउन र पशुपतिका भारतीय पुजारी फेर्ने बाटोतिर लागे । हो, त्यही विन्दुबाटै हिजोको क्रान्तिकारी माओवादीसँग उसकै समर्थकको मोहभंग भयो ।

आज माओवादीसँग राजतन्त्र ढालेर गणतन्त्र ल्याएको, हिन्दु राज्य हटाएर धर्मनिरपेक्ष ल्याएको, जातीय असमानता र सामन्तवाद हटाएको विगतबाहेक न वर्तमान छ न सुदूर भविष्य नै देखिन्छ । यही विडम्बनाबिच माओवादी अध्यक्ष प्रचण्ड नै पटक–पटक बसाइँ सरेर चुनाव जित्न कुद्नु परेको छ ।

यस पटक रुकुमबाट चुनाव जित्दा रणनीतिक प्रत्याक्रमणमार्फत् राज्यसत्ता नै हत्याएको शैलीमा उनी उत्सव मनाउ न पछि परेनन् । जबकि माओवादी क्रान्तिका सबै उपलब्धिलाई नकार्नसमेत तयार देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेर झन्डै राज्यसत्ता कब्जा गर्‍यो । माओवादी प्रत्यक्षतर्फ सात सिटमा खुम्चिएर अस्तित्व रक्षा गर्नुपर्ने कठिन विन्दुमा उभिँदा उता युतु नदी किनारबाट लालटिन बोकेर सुरु भएको चिनियाँ क्रान्तिले ९०औँ वर्ष पूरा गरिसकेको छ । क्रान्तिका उपलब्धि संस्थागत गर्न चुक्दा प्रचण्डको आफैं नेपाली राजनीतिक रंगमञ्चमा असान्दर्भिक हुने अवस्था आएको छ । तर, उनैले आदर्श मानेको चीन युतु नदीको किनारबाट रेड आर्मीले ९० वर्षअघि नापेको एक पाइलाबाट उभिएर वैभवशाली बनिसकेको छ ।

युतु किनारमा रेड आर्मीका सन्तानले रातो झन्डासहित नाटकीय परेड गरिरहँदा विश्वभरबाट शुभकामना आइरहेको थियो । कलाकारको जीवन्त अभिनयले माओ त्सेतुङको नेतृत्वमा भएको रेड आर्मीको क्रान्तिकालीन समयमा लगिदियो । त्यसताकाका गाउँलेहरू सैनिकको हातमा परालका चप्पल र उमालेका अन्डा थमाइदिँदै थिए । त्यही वेला एक वृद्ध महिला र सुत्केरीले क्रान्तिमा जान लागेका सैनिकको हात समाउँदै एक्लै छोडेर नजान गरिरहेको बिन्तीले धेरैको मन पगाल्यो।

यो ‘फेयरवेल’ (बिदाइ) नामक छोटो नाट्य प्रदर्शनले सन् १९३४ को त्यो ऐतिहासिक क्षणलाई पुनर्जीवित गरिदियो । क्रान्तिको बाटो सबैभन्दा जटिल हुन्छ । र, त्योभन्दा पनि गाह्रो क्रान्तिका उपलब्धि संस्थागत गर्न । रेड आर्मीका नातिपुस्ताका सन्तान गर्वसहित जनक्रान्तिलाई सम्झिरहँदा यता नेपालमा भने जनयुद्धलाई दुत्कार्ने जमात बढेको छ । प्रचण्डलाई क्रान्तिनायकभन्दा धेरै भिलेनका रूपमा देखाउन थालिएको छ । अझै नेपालमा प्रतिक्रान्तिको डरले पिरोल्न थालेको छ ।

चीनमा सिपिसी महासचिव सी चिनपिङले भ्रष्टाचारविरुद्ध कठोर कदम चालिरहेका छन् । वार्षिक सयौँ उच्च नेतादेखि कर्मचारीसमेत कारबाहीमा पर्छन् । यद्यपि, उनीमाथि भ्रष्टाचारलाई विरोधी तह लगाउने अस्त्र बनाएको आरोप पनि लाग्ने गरेको छ । तर उनको नेतृत्वमा भएको गरिबी उन्मूलन अभियान अहिले विश्वकै लागि उदाहरण बनेको छ । यता नेपालमा भने स्वयं प्रचण्ड र उनका परिवारमाथि सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार आरोप सरकारले नै लगाइरहेको छ । माओवादी लडाकु व्यवस्थानका क्रममा क्यान्टोन्मेन्टमा भ्रष्टाचारसम्मका आरोपले उनलाई पिरोलिरहेको छ । हिजो जनयुद्धका सारथि पनि सबैले एक–एक गर्दै छाडिसकेका छन् । प्रचण्डले चीनबाट माओवाद त भित्र्याए, तर त्यसलाई जनजीविका, जनताको जीवनस्तर र आर्थिक समुन्नतिसँग जोड्न सकेनन् ।

त्यो ऐतिहासिक यात्रा 
अहिले पनि चीनको चाङकौ सहरसँगै युतु नदी आफ्नै गतिमा बगिरहेको छ । त्यही युतु नदीको काठको फेरी तरेर चीन छिचेलेका रेड आर्मीको लङ मार्चले चीनको इतिहास नै फेरिदियो । रेड आर्मीको लङ मार्च प्रस्थानस्थल आधुनिक चीनमा क्रान्तिकारी इतिहासको केन्द्र बनेको छ । सन् १९३४ अक्टोबर १७ देखि २० तारिखसम्म सिपिसीको केन्द्रीय रेड आर्मीले युतु नदी तर्दै लङ मार्च थाल्दा ८६ हजार सदस्य थिए । तर, चिनियाँ जनक्रान्ति सम्पन्न हुँदा करिब सात हजार मात्रै रेड आर्मी सकुशल बाँच्न सफल भए ।

सन् १९३४ अक्टोबर १० मा केन्द्रीय क्रान्तिकारी सैनिक आयोग रुइझिनबाट युतु सारिएको थियो । अक्टोबर १२ देखि १८ सम्म आयोगले यहीँ बसेर रेड आर्मीको रणनीतिक स्थानान्तरण, सेना परिचालन, आपूर्ति व्यवस्थापन, विभिन्न कोरका कोड नाम तय र लङ मार्चसँग सम्बन्धित सबै सैन्य योजना बनाएको थियो ।

त्यसवेला प्रथम रेड आर्मी कोर अक्टोबर ११ मा युतु पुग्यो । यहाँ ती रेड आर्मीलाई विचारले तिखारियो । हतियार, गोलाबारुद, खाद्यान्न र आर्थिक स्रोत निश्चित गरियो । १७ अक्टोबर साँझ सानफेङपा घाटबाट फेरीमा युतु नदी तर्दै उक्त कोरले लङ मार्चका पहिलो पाइला नाप्यो ।

त्यसको भोलिपल्ट अक्टोबर १८ तारिखका साँझ माओ त्सेतुङ, चोउ एनलाई, चु तेसहित कम्युनिस्ट पार्टीका केन्द्रीय नेताले पनि यहीँबाट नदी तर्दै लङ मार्चमा होमिए । पहिले हातले चलाइने डुंगामार्फत रेड आर्मीले नदी छिचोलेका थिए । अहिले घाटलाई ढुंगाले बलियो पारिएको छ ।

अहिले सी चिनफिङ नेतृत्वमा अघि बढेको चीनले युतु नदी किनारको यस स्थानलाई संरक्षण गरेर राष्ट्रिय प्रमुख सांस्कृतिक सम्पदा संरक्षण एकाइ कायम गरिसकेको छ । सन् २००६ को मेमा चिनियाँ राज्य परिषद्ले यस स्मारकलाई राष्ट्रियस्तरको सांस्कृतिक सम्पदा घोषित गरेको छ ।

किन भयो लङ मार्च ? 
खासमा सन् १९३४ को समयमा चीनमा च्याङ काई सेक नेतृत्वको राष्ट्रवादी कोमिन्ताङ सेनाको शासन थियो । त्यसवेला कोमिन्ताङ सेनाको घेरा तोड्न केन्द्रीय रेड आर्मीले युतुबाट ऐतिहासिक यात्रा थालेको थियो । यही यात्रा नै त्यसवेला चिनियाँ कम्युनिस्ट आन्दोलनको निर्णायक मोड बन्न पुग्यो । त्यसवेला अहिलेको युतु काउन्टी र कोङ नदीको उत्तरी किनार रेड आर्मीका सैन्य एकाइ जम्मा भएर प्रस्थान हुने मुख्य क्षेत्र थिए ।

माओ त्सेतुङ र चोउ एनलाईसहितले प्रयोग गरेको युतु नदी पार गर्ने पहिलो घाट अहिले पर्यटक र इतिहास अध्ययनको केन्द्र बनेको छ । उता दक्षिणी चियाङसीस्थित येपिङ गाउँमा स्थापित सोभियत सरकारको पुरानो कार्यालय छ । जहाँ चिनियाँ कम्युनिस्ट पार्टीको बैठकसँगै माओ वास बसेका थिए । जहाँ अहिले पनि दैनिक सयौँ चिनियाँहरू पुगेर आफ्नो इतिहासप्रति गर्व गर्छन् । यहाँस्थित लङ मार्चको पूर्वसन्ध्यामा माओ त्सेतुङ वास बसेको निवास अहिले पनि प्रसिद्ध छ । माओको जन्मथलो जस्तै लङ मार्चका वेला उनी वास बसेका स्थान पनि चीनमा उत्तिकै प्रसिद्ध छन् । दक्षिणी चियाङ्सी प्रान्तीय कम्युनिस्ट पार्टी समितिको कार्यालय र तीन तहका क्याडरहरूको सम्मेलनस्थल पनि अहिले अध्ययनको अर्को केन्द्र बनेका छन् । त्यहीँ रहेको केन्द्रीय क्रान्तिकारी सैनिक आयोगको मुख्यालय अहिले पनि इतिहासको साक्षी बनेर उभिएको छ । केन्द्रीय रेड आर्मीको प्रथम र पाँचौँ सेना कोरको मुख्यालयलाई पनि अर्को ऐतिहासिकस्थल बनाइएको छ । रेड आर्मीका विभिन्न सैन्य एकाइहरूले प्रयोग गरेका आठवटा नदी पार गर्ने घाट पनि इतिहास बोलेर दुरुस्तै उभिएका छन् ।

इतिहास बोल्ने बम
युतु नदी किनारबाट केही वर चियाङ्सी प्रान्तमै एउटा सानो येपिङ गाउँ छ । जहाँ पुग्दा करिब सय वर्ष पुरानो इतिहाससँग साक्षात्कार गर्न पाइन्छ । सिपिसीको पहिलो बैठक बसेको यो ठाउँलाई पुरानै शैलीमा जोगाइएको छ । केही सामान त्यही वेलाका छन् भने केही प्रतिस्थापित गरेर राखिएका छन् । रेड आर्मीको लङ मार्चका वेला माओ सुत्ने कोठादेखि मन्त्रालय, बैठक कक्ष र कार्यालयसमेत जस्ताको तस्तै संग्रहालयका रूपमा बचाइएको छ । यो येपिङ गाउँको स्मारक मात्रै होइन । रेड आर्मीको क्रान्तिका वेला माओले सरकार चलाएको जीवित स्थान पनि हो । यहाँ माओले पत्रिका पढ्ने चौतारीदेखि हजार वर्ष पुरानो रुखसमेत जोगाइएको छ । कोमिन्ताङ राष्ट्रवादी सेनासँग लड्दा माओवादी मुस्किलले बाँचेको ठाउँसमेत जस्ताको तस्तै हेर्न पाइन्छ । चीनले यो ठाउँलाई वर्तमान र भावी पुस्ताका खुला पुस्तकालय बनाएको छ ।

यस खुला संग्रहालयमा हजार वर्ष पुरानो कपुरको रुखले जो कसैको नजर तान्छ । जुन रेड आर्मीको क्रान्तिका वेला माओ सुत्ने कच्चा कुटीसँगै ठडिएको छ । त्यसकै फेदमा रहेको फलैँचामा माओले पत्रिका पढ्ने, स्थानीयसँग संवाद र चाउ एनलाइसहितका सहयोद्धासँग नयाँ रणनीतिबारे छलफल गर्थे ।

यही कपुरको रुखसँग माओ बाँच्न सफल भएको पुरानो कथा पनि छ । रेड आर्मीले कोमिन्ताङको राष्ट्रवादी सेनाविरूद्ध क्रान्ति गरिरहेका वेला माओ त्सेतुङ येपिङ गाउँको त्यही रुखनजिकैको कुटीमा बसिरहेका थिए । यो घटना सन् १९३३ को वसन्त ऋतुको हो । माओ उक्त रुख नजिकैको कुटीमा भावी योजनाबारे तयारीमा जुटिरहेका वेला कोमिन्ताङ (राष्ट्रवादी) सेनाको लडाकु विमानले बमबारी गर्‍यो । त्यही क्रममा विमानबाट कोमिन्ताङको सेनाले त्यही कपुरको रुखमा विशाल आकारको एउटा बम झार्‍यो । त्यो बम भाग्यवश हजार वर्ष पुरानो कपुरको रूखको हाँगामा अड्कियो । अड्किएको उक्त बम पड्किन सकेन । कोमिन्ताङको सेनाले खसालेको त्यही जीवित बमलाई दुरुस्तै त्यही रुखमा देख्न सकिन्छ ।

कपुरको रुखमा अड्किएको बम जमिनमा नखसेकाले नपड्किँदा माओसहिततका रेड आर्मी कमान्डरहरू बाँच्न सफल भए । अहिले पनि त्यो बमलाई त्यही रुखमा देख्न सकिन्छ । त्यसवेला नपड्किएको बम चिनियाँ जनसेनाले निष्क्रिय पार्‍यो । उक्त बमलाई याद दिलाउने गरी अहिले पनि कपुरको रुखमा प्रतिमूर्ति (रेप्लिका) बम जस्ताको तस्तै छ । यो बलमे येपिङ गाउँ पुग्नेलाई अहिले पनि तानिरहन्छ ।

माओका वास चिनियाँका तीर्थस्थल
सन् १९३४ को सेप्टेम्बर महिनातिर माओ त्सेतुङ चियाङ्सीको अहिलेको मुख्य सहर रुइचिनबाट युतु पुगेका थिए । उनी त्यसवेला ‘हे हाउस’को पूर्वी कोठामा बसे । त्यही समय उनले जिल्ला, गाउँपालिका र गाउँस्तरका कार्यकर्तासँग संवाद गरे । माओले गरिब किसान र श्रमिकसँग पनि भेटेर त्यसवेलाको सामाजिक संरचनात्मक अवस्था र रेड आर्मीलाई मिल्न सक्ने सहयोगबारे बुझे । यसलाई माओले चिनियाँ जनक्रान्ति सफल बनाउन गरेको एक अनुसन्धानका रूपमा अहिले पनि लिइन्छ।

माओ लङ मार्चमा जानुअघि त्यस क्षेत्रमा वास बसेको ‘हे हाउस’ छिङ राजवंशको उत्तरार्द्धमा बनाइएको थियो । यो घर परम्परागत चिनियाँ शैलीको काठ र माटोबाट बनेको छ । यो भवनमा दुई मुख्य हल र अन्य कोठा छन् । यही घरमा माओले जनतासँग संवाद गरेका थिए । उता सुरुमा क्याथोलिक चर्चका रूपमा निर्माण गरिएको चियाङ्सीका भवन पनि लङ मार्चको एक अंग थियो । युतु नदी किनारसँगै लङ मार्चका वेला यो भवनमा ट्रेड युनियन, युदु जिल्ला कम्युनिस्ट पार्टी र रेड आर्मीको स्वास्थ्य विद्यालय बनाइयो । सन् १९३४ मा दक्षिणी चियाङ्सी प्रान्तीय कम्युनिस्ट पार्टीको मुख्यालय यही भवनमा थियो । उता झु परिवारको पुर्ख्यौली भवनमा रेड आर्मीको कार्यालय राखिएको थियो।

यो मुख्यालयमा लङ मार्चको सैन्य योजना बनाइयो । यही भवनमा रेड आर्मीका रणनीतिक निर्णय हुन्थे । अहिले यो भवन पनि चिनियाँका लागि तीर्थस्थलजस्तै बनेको छ । उता लिउ परिवारका दुईवटा पुर्ख्यौली भवनमा रहेको लङ मार्चअघि सैनिकहरूको अन्तिम तयारी गरिएको थियो । यही भवनबाट सैनिकहरू सानफेङ्बा घाटतर्फ हिँडेका थिए।

सानफेङ्बा घाटबाट प्रथम रेड आर्मी कोरले लङ मार्चको औपचारिक थालनी गर्‍यो । युतु नदीआसापासको क्षेत्र अहिले चिनियाँ कम्युनिस्ट आन्दोलन, चिनियाँ क्रान्ति र जनमुक्ति सेनाको इतिहाससँग गर्वसहित उभिएको छ । चीनमा अहिले यी सम्पदा ऐतिहासिक पहिचान मात्रै होइनन्, देशभक्तिपूर्ण शिक्षा, क्रान्तिकारी आदर्श, पार्टी निर्माण र नयाँ पुस्तामा ‘लङ मार्चको भावना’ हस्तान्तरणका केन्द्र भएका छन् । यी स्मारकमा हरेक वर्ष हजारौँ विद्यार्थी, सैनिक, सरकारी कर्मचारी र पर्यटकले चीनको क्रान्तिकारी इतिहास बुझ्छन्। 

सुझावित समाचार