सरकारले गरेको ‘पोलिटिकल स्टन्ट’को विरुद्धमा आवाज उठाउँछाैँ : नेता आङ्देम्बे

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गरेको ‘पोलिटिकल स्टन्ट’ को विरुद्धमा कांग्रेसले संसदमा आफ्ना आवाज उठाइरहेको बताएका छन् । उनले पछिल्ला दिनमा सरकारले गरेका उच्छृंखलताको विरुद्धमा कांग्रेसले निरन्तर खबरदारी गरेको बताए ।  

नेपाली कांग्रेस बागलुङका पूर्वसभापति एवं पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभा तथा स्व. कँडेलको नाममा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता  आङ्देम्बले  सरकार आफ्नै पार्टीका सांसदबाट घेरामा परेको बताए ।  ‘उहाँहरूले गरेका एक सय दिनमा गछौंँ भन्ने प्रतिबद्धता पनि पानीको फोकाजस्तै पट्टपट्ट फुटेको सबै जनताले देख्नुभएको छ । पार्टी हाेइन मत परिवर्तन गरेका हौँ भन्नेले पनि देख्नुभएको छ,’ नेता आङ्देम्बले भने, ‘आज यो नाममा आएको पार्टी र यिनले नेतृत्व गरेका सरकारबाट रातारात मेरो भविष्य परिवर्तित हुन्छ र मैले चाहना राखेको मुलुक परिवर्तन हुन्छ भन्ने सपना रातारात टुटेको छ । उहाँहरूले आफैँ पुर्पुरोमा हात राख्नुपर्ने आवस्था आएको छ ।’ उनले यसका बाबजुद प्रमुख प्रतिपक्ष दलको नाताले सरकारलाई सच्चिनुहोस् भनेर आग्रह गरिएको, तर सच्चिने छाँटकाँट नभएको बताए । उनले जनताले दिएको सबैभन्दा ठुलो विश्वासलाई अहिलेको सरकारले आत्मसात् गरेर काम गर्न नसकेको जिकिर गरे ।  

नेता आङ्देम्बेले सरकार कहाँबाट सञ्चालित भइरहेको छ भन्ने कुरा कसैलाई पनि स्पष्ट नभएको बताएका छन् । पछिल्ला समय सरकारले गरेका गतिविधिका कारण सरकार कुनै बाह्य शक्तिको प्रभावमा परिचालित भएको आभास हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

उनले भने, ‘हामीले उहाँहरूका गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ । प्रतिपक्षले देखाएको आत्मीयता, प्रेम र सदभावकै कारण अहिलेको सरकार टिकिरहेको छ। हामीले हरेक महत्त्वपूर्ण विषयमा सहयोग गरेका छौँ । ‘राम–राम’ भन्न सकिएला, तर सधैँ काँध थापेर हिँड्न सकिँदैन । यो न संसदीय मर्यादासँग मेल खान्छ, न विकास–निर्माणको दृष्टिले सन्तोषजनक देखिन्छ । उहाँहरूकै संगठनभित्रबाट हेर्दा पनि अहिलेको कार्यशैली कतै मेल खाँदैन । मुलुकलाई दिशाहीन र अव्यवस्थित ढंगले हाँकिएकोजस्तो देखिएको छ । यस्तो अवस्थामा प्रतिपक्ष अझ जिम्मेवार बन्नुपर्छ ।’ उनले सरकारको कार्यशैलीले मुलुकलाई भड्खालोतर्फ धकेल्ने त होइन भन्ने कांग्रेसलाई चिन्ता रहेको बताए । सरकारले उत्ताउलोपन देखाउन खोजेका धेरै विषयमा हामीले पटक–पटक खबरदारी गरेका छौँ। चाहे सुकुमवासीको समस्या होस्, संवैधानिक परिषद्सम्बन्धी गलत प्रवृत्ति होस् वा अन्य राष्ट्रिय विषय– हामीले निरन्तर आवाज उठाउँदै आएका छौँ,’ आङ्देम्बेले भने ।

उनले आफूहरूले पार्टीले दिएको जिम्मेवारी र संसदप्रतिको दायित्वलाई गम्भीरतापूर्वक निर्वाह गरिरहेको बताए । ‘हामी विरोधका लागि मात्र विरोध गर्ने प्रतिपक्ष होइनौँ । परिणाम दिनका लागि संसदमा भूमिका निर्वाह गरिरहेका छौँ । देश र जनताको हितका लागि आवश्यक परे सत्तापक्षसँग सहकार्य गर्न पनि हामी तयार छौँ,’ उनले भने, ‘आजको प्रतिपक्ष हिजोको जस्तो छैन । विगतमा सत्ता प्राप्तिका लागि विरोध गर्ने प्रवृत्ति हुन सक्थ्यो, तर आजको प्रतिपक्ष त्यस उद्देश्यले संसदमा आएको होइन । हामी परिणाममुखी भूमिका निर्वाह गर्न चाहन्छौँ र सदनभित्र नेपाली कांग्रेसको गहकिलो तथा जिम्मेवार उपस्थिति देखाउन चाहन्छौँ । त्यसअनुसार नै आफ्ना विचार र धारणा प्रस्तुत गरिरहेका छौँ ।’

पार्टीभित्र हुने मतभेद र विचार–विमर्शलाई स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले पार्टीभित्रका आरोह–अवरोहले कहिलेकाहीँ बाटो अलमलिएकोजस्तो देखिन सक्छ यसलाई समाधान तर्फ लानुपर्ने बताए ।  उनले पार्टीको विधानविपरीत कोही पनि बाहिर जानु नहुने बताए । पार्टीको विधान मान्नुपर्दछ, संविधान मान्नुपर्दछ, विधि र विधानभन्दा बाहिर कोही पनि जानुहुँदैन । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई हामी सबैले स्विकारेर अगाडि बढ्नुको विकल्प नरहेको हुँदा सबै एक भएर आएको समस्यालाई समाधान तर्फ लानुपर्ने बताए । 

स्वर्गीय गोविन्दप्रसाद शर्मा कँडेलको योगदान स्मरण गर्दै आङ्देम्बेले  भने, ‘गोविन्दप्रसाद शर्मा कँडेल निष्ठा, इमानदारी र समर्पणका प्रतीक नेता रहेको र उहाँको योगदान अतुलनीय छ ।’ उनले स्व. कँडेलको योगदानलाई पार्टीले मात्र होइन, देशले पनि कहिल्यै बिर्सन  नहुने बताए ।

सुझावित समाचार