नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गरेका छन्। प्रदेश सरकारबाट नेपाली कांग्रेसले साथ फिर्ता लिएको सन्दर्भलाई संकेत गर्दै उनले एमाले आफ्नै बलमा अघि बढ्ने पार्टी भएको बताएका हुन्।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले एमाले कुनै सहाराविना उभिन नसक्ने पार्टी नभएको उल्लेख गरे। उनले एमालेलाई स्वतन्त्र वृक्षको संज्ञा दिँदै अनेकौँ राजनीतिक चुनौती, आँधीहुरी र तुफानको सामना गर्दै अघि बढेको बताए।
‘हामीलाई एक्ल्याउने प्रयास भइरहेका छन्। हामी अर्कालाई समातेर मात्र उठ्न सक्ने लहरो होइनौँ। हामी स्वतन्त्र वृक्ष हौँ। अनेक आँधीहुरी र तुफानको सामना गरेका छौँ। अर्को कसैलाई नसमाती उठ्नै नसक्ने त्यान्द्रो पनि होइनौँ,’ ओलीले भने।