६० वर्षपछि स्पेन र अर्जेन्टिना आमनेसामने

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको १०४औँ खेलले विश्व च्याम्पियनको निर्णय गर्नेछ । स्पेन र साबिक विजेता अर्जेन्टिनाबिच आगामी आइतबार राति उपाधि भिडन्त हुँदै छ । स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको थियो । दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डमाथि २–१ को जित निकाली स्पेनसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

विश्वकप इतिहासमा लगातार दक्षिण अमेरिका र युरोपियन राष्ट्रबिच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । सन् २०२२ मा कतारले आयोजना गरेको विश्वकपमा अर्जेन्टिनाले युरोपियन राष्ट्र फ्रान्सविरुद्ध खेलेको थियो । सन् २०२४ को युरो विजेता स्पेनले टिकी–टाका शैली अपनाइरहेको छ । अर्जेन्टिनाले भने राउन्ड अफ ३२ देखि लगातार खेलको अन्तिम समयमा गोल गर्दै जित निकालेको छ ।

फुटबल विश्लेषकहरूले सेमिफाइनल, फाइनल र तेस्रो स्थानका हुने खेललाई हाइभोल्टेजका रूपमा लिएका छन् । विश्वकपमा पहिलोपटक फिफा वरीयताका शीर्ष चार टोली अन्तिम चारमा पुगेका हुन् । यद्यपि, स्पेन र अर्जेन्टिनाबिचको उपाधि भिडन्त थप रोमाञ्चकताले भरिने बिबिसीले जनाएको छ । अर्जेन्टिनाले इंग्ल्यान्डलाई रोक्दै ‘अल युरोपियन फाइनल’ समीकरण तोडेको बिबिसीले जनाएको छ । ‘धेरैले अल युरोपियन फाइनल हुने अपेक्षा राखेका थिए, तर लियोनल मेसीप्रेरित अर्जेन्टिनाले यस्तो समीकरण हुन दिएन । विश्वकप इतिहासमा फेरि एकपटक ल्याटिन अमेरिका र युरोपबिच विश्व च्याम्पियन होडबाजी हुनेछ,’ बिबिसीले उल्लेख गरेको छ, ‘समर्थकले अब उपाधि भिडन्तम दुई फरक फुटबल शैली हेर्न पाउनेछन् । यसमा कुन शैलीले बाजी मार्छ भन्ने प्रश्नको उत्तर आगामी आइतबार राति पाइनेछ ।’

फिफाले भने स्पेनको तुलनामा अर्जेन्टिनाको फाइनल यात्रा कठिन भएको उल्लेख गरेको छ । स्पेनले फ्रान्समाथि एकपक्षीय दबाब राखी फाइनलमा स्थान बनाएको फिफाको भनाइ छ । फ्रान्सले खेलको ८१औँ मिनेटपछि मात्र स्पेनको पोस्टमा आक्रमण गरेको थियो । फ्रान्स खेलमा फर्कने प्रयास गरिरहँदा स्पेनले २–० को अग्रता लिइसकेको थियो । एटलान्टा रंगशालामा साबिक विजेता अर्जेन्टिना एक गोलले पछि परेको थियो । एन्थोनी गोर्डानले इंग्ल्यान्डलाई अग्रता दिँदा अर्जेन्टिनामाथि उपाधि रक्षा गर्ने दबाब बढिसकेको थियो । खेलको ८५ मिनेटपछि दुई सनसनी गोल गर्दै अर्जेन्टिनाले इंग्ल्यान्डमाथि २–१ को जित निकालेको बिबिसीले उल्लेख गरेको छ ।

त्यो पहिलो भेट 
विश्वकपको २३औँ संस्करण चलिरहँदा स्पेन र अर्जेन्टिनाबिच पहिलोपटक ट्रफीका लागि प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपको तथ्यांकअनुसार उनीहरू ६० वर्षपछि एकआपसमा भिड्न लागेका हुन् । सन् १९६६ मा स्पेन र अर्जेन्टिनाबिच समूह चरणमा खेल भएको थियो । त्यसयता दुई राष्ट्रबिच विश्वकपको कुनै पनि संस्करणमा भेट भएन । सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप जितेको संस्करणमा अर्जेन्टिनाले स्पेनमाथि २–१ को जित हात पारेको थियो । भिल्ला पार्कमा भएको खेलमा स्पेनले अग्रता लिएको थियो । दोस्रो हाफमा मैदान प्रवेश गरेका लुइस आर्टिमेले अर्जेन्टिनाका लागि दुवै गोल गरेका थिए । विश्वकपबाहेक स्पेन र अर्जेन्टिनाबिच १३ पटक अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले ६ तथा अर्जेन्टिनाले पाँच खेलमा जित निकालेका छन् । दुई खेल भने बराबरीमा सकिएको थियो । सन् २०१८ मा उनीहरूले अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए । म्याड्रिडमा भएको खेलमा स्पेनले अर्जेन्टिनामाथि ६–१ को सानदार जित हात पारेको थियो । गत फ्रेबुअरीमा पनि अर्जेन्टिना र स्पेनबिच मैत्रीपूर्ण खेल तय भएको थियो । फिफाले प्राविधिक कारण जनाउँदै खेल रद्द गर्यो ।

प्रशिक्षक टुचेलको रणनीतिको आलोचना
विश्वकपको सेमिफाइनलमा ८४औँ मिनेटसम्म अग्रता बचाएको इंग्ल्यान्ड अन्तिम समयमा दुई गोल व्यहोर्दा अर्जेन्टिनासँग २–१ ले पराजित भयो । यसमा इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलको रणनीति चर्को आलोचना भइरहेको छ । इंग्ल्यान्डका पूर्वखेलाडी र विश्लेषकहरूले टोलीले अग्रता लिएपछि अत्यधिक रक्षात्मक खेल्नु नै हारको मुख्य कारण भएको मानेका छन् । गोर्डनले ५५औँ मिनेटमा इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसपछि इंग्ल्यान्डले खेल नियन्त्रणमा राख्नेभन्दा पनि रक्षात्मक रणनीतिमा केन्द्रित गरेको थियो । अर्जेन्टिनाका फर्नान्डेजले ८५औँ मिनेटमा बराबरी र अन्तिम इन्जुरी समयमा लाउटारो मार्टिनेजले हेडिङ गोल गरेका थिए ।

दुवै गोलमा मेसीले असिस्ट गरेका थिए । इंग्ल्यान्डले अग्रता लिएपछि र दोस्रो गोल व्यहोर्नुअघिसम्म बल नियन्त्रण केवल १२ प्रतिशत राखेको थियो । प्रशिक्षक टुचेलले डिफेन्डर एजरी कोन्सा, ड्यान बर्न र निको ओराइलीलाई मैदानमा छिराउनु गल्ति भएको विश्लेषकले दाबी गरेका छन् । इंग्ल्यान्डका पूर्वकप्तान वायन रुनीले आफ्नो रणनीतिका कारण टोली पराजित भएको बताए । ‘यसको सुरु प्रशिक्षकको निर्णयबाट भयो । विश्वविजेता टोलीविरुद्ध यस्तो रणनीतिले सफलता पाउन सकिँदैन,’ उनले भने । पूर्वकप्तान एलन सियररले पनि अर्जेन्टिनाजस्तो गुणस्तरीय टोलीविरुद्ध लामो समय रक्षात्मक भएर खेल्न नसकिने बताएका छन् । 

वेलिंघमले हाने अर्जेन्टिनी खेलाडीलाई थप्पड
इंग्ल्यान्ड सेमिफाइनलबाट बाहिरिएपछि इंग्लिस स्टार जुड वेलिंघम विवादमा परेका छन् । अर्जेन्टिना फाइनलमा प्रवेश गरेपछि खुसियाली मनाइरहेका वेला रियल म्याड्रिडका मिडफिल्डर वेलिंघमले अर्जेन्टिनी डिफेन्डर भ्यालेन्टिन बार्कोको टाउकोमा पछाडिबाट थप्पड हानेका थिए । अर्जेन्टिनाले विजयी गोल गरेपछि मैदानबाहिर रहेका बार्कोले इंग्ल्यान्डको ‘बेन्च’अगाडि दौडिएर खुसियाली मनाएका थिए । त्यसपछि वेलिंघमले बार्कोलाई थप्पड हानेका हुन् । 

प्लेयर्स टु वाच

रोड्री (स्पेन) 
दोस्रोपटक फाइनलमा स्थान बनाउँदा स्पेनका मिडफिल्डर रोड्रीले प्रेरणादायी प्रदर्शन गरेका थिए । विश्वकपमा अपराजित रहे पनि स्पेनले गोल गर्न संघर्ष गर्दै आएको छ । उसले विपक्षीलाई पनि खुलेर खेल्न दिएको छैन । मध्यभागमा रोड्रीले विपक्षीलाई खेल्ने मौका दिएका छैनन् । उनलाई युवा खेलाडी पेड्री र फाबियन रुइजको पनि राम्रो साथ छ । उनी प्रतियोगिताकै सर्वोत्कृष्ट मिडफिल्डर हुन् । उनी टिमलाई दबाबबाट रोक्न र विपक्षीविरुद्ध दबाब बनाउन निकै चलाख छन् । रोड्रीले विश्वकपमा गोल गरेका छैनन् । तर, स्पेनका लागि उनले ६९४ पास खेलेका छन् । उनको पास एक्युरेसी ९३ प्रतिशत छ ।

एन्जो फर्नान्डेज (अर्जेन्टिना) 
अर्जेन्टिनालाई लगातार दोस्रोपटक उपाधि जिताउने लक्ष्यमा मिडफिल्डर एन्जो फर्नान्डेज रहेका छन् । अर्जेन्टिनाको फाइनलसम्म यात्रामा उनले सानदार प्रदर्शन गर्दै आएका छन् । उनले महŒवपूर्ण खेलमै गोल गरेका छन् । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा एन्जोले २५ यार्ड टाढाबाट शक्तिशाली प्रहार गोल भएपछि अर्जेन्टिना खेलमा फर्किएको थियो । त्यसअघि इजिप्टविरुद्ध ३–२ ले जित निकाल्दा उनले नै निर्णायक गोल गरेका थिए । इंग्लिस क्लब चेल्सीका कप्तान एन्जोबाट अर्जेन्टिनाले फाइनलमा यस्तै प्रदर्शनको आशा गरेको छ । एन्जोले मध्यभागमा बल नियन्त्रण गर्नेदेखि कप्तान मेसीलाई सटीक पास दिँदै आएका छन् । एन्जो र मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरबिच राम्रो समन्वय छ । 

See More On

सुझावित समाचार