नयाँ पत्रिकाकर्मी ढुंगानासहित चार पत्रकार पुरस्कृत

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानासहित चारजना पत्रकार ‘सुरेश रजक साहसिक टेलिभिजन पुरस्कार २०८२’ बाट पुरस्कृत भएका छन् ।

एभिन्युज खबर टेलिभिजनले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको समारोहमा ढुंगानासहित कान्तिपुर टेलिभिजनका श्यामकृष्ण श्रेष्ठ, नेपाल प्रेस डटकमका उमेश कार्की र स्वतन्त्र पत्रकार शम्भु दंगाललाई पुरस्कृत गरेको हो । उनीहरूलाई संयुक्त रूपमा नगद एक लाख ११ हजार १११ रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ । 

पुरस्कृत चारैजना पत्रकार गत वर्ष २३ भदौमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा समाचार संकलन गरिरहेका वेला घाइते भएका थिए । 

पुरस्कार छनोटका लागि वरिष्ठ पत्रकार तीर्थ कोइराला, लक्ष्मण उप्रेती र विनोद ढुंगेल सम्मिलित निर्णायक समिति गठन गरिएको थियो । १५ चैत ०८१  देखि १५ चैत ०८२ को अवधिसम्ममा  साहसिक पत्रकारिता गरेका पत्रकारको काम, विशेष गरी ‘जेन–जी’ आन्दोलनमा उनीहरूले  गरेको रिपोर्टिङ र देखाएको साहसको मूल्यांकन गरेर चारजनालाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय गरिएको निर्णायक समितिका सदस्य तीर्थ कोइरालाले बताए ।

एभिन्युजले १५ चैत ०८१ मा तीनकुनेमा भएको आन्दोलनको रिपोर्टिङका क्रममा ज्यान गुमाएका आफ्ना फोटो पत्रकार सुरेश रजकको स्मृतिमा पुरस्कार  स्थापना गरेको थियो ।  

सुझावित समाचार