एनआइसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुईवटा विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले सुन्दरबजार, लमजुङस्थित श्री सर्वोदय माध्यमिक विद्यालय र तुलसीपुर उपमहानगरपालिका– १, भ्युडहर, सुनपुर, दाङस्थित श्री वीरेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक, झोला र शैक्षिक सामग्री प्रदान गरेको हो ।
विद्यार्थीको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शिक्षा वृद्धिमा सहयोग गर्न गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरिएको बैंकले जनाएको छ । बैंकका बेँसीसहर शाखाका निमित्त शाखा प्रमुख कंवलजित सिंह सन्धुले सर्वोदय माविका सहप्रधानाध्यापक लालबहादुर गुरुङलाई उक्त सामग्री हस्तान्तरण गरे ।
त्यसैगरी, बैंकका घोराही सर्कल प्रमुख विनोदप्रसाद जैसी र तुलसीपुर शाखाका शाखा प्रमुख राजीव ओलीले वीरेन्द्र माविका प्रधानाध्यापक टोपबहादुर घर्तीलाई झोला र शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक, विद्यार्थी र बैंकका कर्मचारीलगायतको उपस्थिति थियो ।