अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । पनौती, काभ्रेपलाञ्चोकमा भएको सभा संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष ०८१/८२ को वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरण पारित गरेको छ ।
छलफलमा भाग लिँदै सेयरधनीले संस्था राम्रो अवस्थामा नै रहेको र आगामी दिनमा अझ राम्रो गर्नुपर्ने सुझाव दिए । साथै, सभाले चालू आवका लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिकसमेत पारित गरेको बताइएको छ ।
यसका साथै उपयुक्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभाले पारित गरेको छ । सभामा पेस गरिएका सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले जानकारी दिए ।