मानिसको ज्यानै लिने गरेर विषालु प्रकृतिका सर्पले टोकेका बिरामी मानिसको ज्यान जोगिएको छ। सर्पले टोकेपछि उपचारका लागि महाकाली अस्पताल पुगेका ४४ मानिसको ज्यान जोगिएको हो। कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले झन्डै दुई साताको अवधिमा ४४ मानिसको उपचारपछि घर फर्किएको जनाएको छ।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशराज पन्तले झन्डै १२ दिनको अवधिमा ४४ जना सर्पदंशका बिरामी उपचारपछि घर फर्किएको बताए। उनका अनुसार सर्पले टोकेका बिरामीका लागि औषधि, चिकित्सकीय जनशक्तिदेखि उपकरण भएकाले बिरामी भएर अस्पताल पुग्ने सबै सुरक्षित भएर फर्किएको बताए। समयमै उपचार पाएपछि सर्पदंशका १८ पुरुष, २६ महिला निको भएर घर फर्किएका हुन्।
भीमदत्त नगरपालिका– १८ का २५ वर्षका सुरेश दमाईंले राति सुतिरहेको वेला सर्पले टोकेको थापा पाएनन्। लक्षणका आधारमा सर्पकै टोकाइ नै हो भन्ने चिकित्सकले निष्कर्ष निकालेपछि आइसियूमा राखेर उपचार गरिएको थियो। भीनपा– ६ का १६ वर्षीय मिर्जुम माली, दोधाराचाँदनी– ७ की ५८ वर्षीया पूर्णकला बोगटी, बेदकोट– १० का पूर्णिमा राना, लक्ष्मण राना, डडेल्धुरा पर्शुराम– ७ मलासकी हरिनादेवी बोहरा, डडेल्धुरा आलितालका पूर्णबहादुर थापामगर उपचारपछि घर फकिएका छन्।
कृष्णपुर– १ की ३८ वर्षीया सीतादेवी बुढाको परिवारले जिउँदै सर्प छोपेर ल्याएकाले चिकित्सकलाई पहिचान गर्न सजिलो भएको थियो ।अध्यक्ष पन्तले सर्पदंशपछि धामीझाँक्री, फुकफाक वा मन्त्रतन्त्रमा अल्झिनु अत्यन्त जोखिमपूर्ण हुने वर्षायाममा विशेष गरी बालबालिका, किसान र राति भुइँमा सुत्ने व्यक्तिहरू बढी जोखिममा रहने भएकाले सतर्कता अपनाउन आग्रह गरे। सर्पले टोकेपछि घाउको सामान्य प्राथमिक उपचार गरी कुनै पनि ढिलाइ नगरी एन्टिभेनम उपलब्ध हुने अस्पतालमा पुर्याउनुपर्ने उनको सुझाव छ।
महाकाली प्रादेशिक अस्पतालले वर्षायाममा घरवरपरको झाडी सफा राख्न, राति टर्च प्रयोग गर्न, खेतबारीमा काम गर्दा बुट र लामो कपडा लगाउन, भुइँमा नसुत्न, सर्प देखिए समात्ने वा मार्ने प्रयास नगर्न तथा सर्पदंश भए तत्काल अस्पताल पुग्न सर्वसाधारणलाई आग्रह गरेको छ भने सर्पले टोकेपछि वा शंका लागेपछि सिधै अस्पताल आउनसमेत आग्रह गरिएको छ ।
महाकाली अस्पतालका चिकित्सकहरूका अनुसार गोमन, करेत र भाइपर प्रमुख विषालु सर्प भएकाले विशेषगरी करेतले रातिको समयमा मानिस सुतेको वेला टोक्ने सम्भावना बढी हुने भएकाले सर्पदंशपछि बान्ता हुने, आँखा धमिलो हुने, रिँगटा लाग्ने, बोल्न वा मुख खोल्न गाह्रो हुने, टोकेको ठाउँ सुन्निने वा निलो हुनेजस्ता लक्षण देखिनासाथ अस्पताल आउनसमेत आग्रह गरेका छन् ।