हेटौँडा–काठमाडौं जाेड्ने दुई सडकमा मंगलबार पनि रात्रिकालीन यात्रा बन्द

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

लगातार तीन दिनदेखिको अविरल वर्षापछि मकवानपुरका पहाडी सडकमा पहिरो, ढुंगा र लेदो खस्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले हेटौँडा–काठमाडौं जोड्ने प्रमुख सडकखण्डमा पुनः रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ।

यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रशासनले मंगलबार पनि साँझ ६ः३० बजेदेखि बुधबार बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै हेटौँडा–भैँसे–भीमफेदी–काठमाडौं सडकखण्ड र हेटौँडा हुँदै काठमाडौं जाने कान्ति लोकपथमा रातको समयमा कुनै पनि सवारी सञ्चालन गर्न नदिने जनाएको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार गत असार २८ गते रातिदेखि परेको निरन्तर वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम उच्च बनेकाले सवारी सञ्चालन रोकिएको हो।

यसअघि मकवानपुर प्रशासनले सोमबार राति पनि हेटौँडा–काठमाडौं छोटो दूरीका सडकमा सवारी सञ्चालन रोकेको थियो। मंगलबार दिनभर सडकको अवस्था मूल्यांकन गरी केही साना तथा अत्यावश्यक सवारीलाई सञ्चालनको अनुमति दिइए पनि रातको समयमा जोखिम पुनः बढ्ने आकलनपछि दोस्रो दिन पनि रात्रिकालीन यात्रा स्थगित गरिएको प्रजिअ अधिकारीले बताए।

उनले यात्रु, चालक तथा यातायात व्यवसायीलाई अत्यावश्यक अवस्थाबाहेक रातको यात्रा नगर्न, मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा सुरक्षा निकायले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

सुझावित समाचार