मोरङ उद्योग व्यापार संघलाई आइसिसीको सदस्यता

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

विराटनगरस्थित मोरङ उद्योग व्यापार संघले निजी क्षेत्रको अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी)को सदस्यता प्राप्त गरेको छ।

संघका अध्यक्ष अनुपम राठीका अनुसार मोरङ उद्योग व्यापार संघले सन् २०२५ देखि (आइसिसी)को सदस्यता प्राप्त गरेको हो। आइसिसीको सदस्यता प्राप्त भएसँगै संघ अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिन सफल भएको छ।

विश्वकै ठुलो निजी व्यापारिक संस्थाको सदस्यताले नेपाली उद्योगी–व्यवसायीलाई अन्तर्राष्ट्रिय व्यापार, लगानी, भन्सार नीति, बौद्धिक सम्पत्ति, डिजिटल अर्थतन्त्रलगायत विषयमा विश्वस्तरीय अवसर र सहभागिता प्राप्त भएको अध्यक्ष राठीले बताए।

उनका अनुसार आइसिसीमार्फत एटिए कार्नेट प्रणाली, अन्तर्राष्ट्रिय प्रमाणपत्र, व्यापारिक सिफारिस, बी–टु–बी म्याचमेकिङ, व्यापार मेला, तालिम, सेमिनार तथा विश्वभरका चेम्बरसँग प्रत्यक्ष सम्पर्कको सुविधा उपलब्ध हुनेछ। आइसिसीको सदस्यता नेपाली उत्पादनको निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षित गर्न तथा विश्व बजारमा नेपाली व्यवसायीको पहुँच विस्तार गर्न ऐतिहासिक उपलब्धि भएको अध्यक्ष राठीको भनाइ छ।

सुझावित समाचार