लगातार चार दिन घटेको सेयर बजारमा मंगलबार वृद्धि देखिएको छ। नेप्से परिसूचक ६.११ अंकले बढेर दुई हजार ५७६.२९ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले वृद्धि भएको छ।
आज ३८३ कम्पनीको एक करोड ८२ लाख ९३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम बढेर आठ अर्ब ४१ करोड ७५ लाखमा पुगेको छ। सोमबार सात अर्ब ४६ करोडको सेयर किनबेच भएको थियो।
उत्पादन तथा प्रशोधन समूह ०.१८ प्रतिशतले घट्दा बाँकी सबै समूह वृद्धि भएको छ। व्यापार समूह १.४७ प्रतिशत वृद्धि हुँदा बढेका बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।
मंगलबार कामना सेवा विकास बैंक डिबेन्चर सर्वाधिक १०.२२ प्रतिशतले बढ्दा सांग्रिला विकास बैंक डिबेन्चर र उपकार लघुवित्त नौ प्रतिशतभन्दा धेरैले बढे।
आज सर्वाधिक घट्ने कम्पनीको शीर्ष स्थानमा सामुदायिक लघुवित्त, नेपाल एसबिआई बैंक डिबेन्चर र स्वावलम्बन लघुवित्त छन्। यी धितोपत्र क्रमशः आठ, सात र चार प्रतिशतभन्दा धेरैले घटेका हुन्।