महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा ‘बा’विरुद्ध बोल्ने हिम्मत छ ?

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

रास्वपा सांसद खगेन्द्र सुनारले नेल लगाएर आएको विद्रोहीलाई विरोध गर्न सिकाउन नपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद ऐन महरलाई जवाफ दिँदै सुनारले यस्तो बताएका हुन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा महरले गणेश नेपाली आत्मदाहको विषयमा ‘बालेन सरकार मुर्दावाद’ भन्दै विरोध जनाएका थिए। महरको नाम उल्लेख नगरी सुनारले गणेश नेपालीलाई बचाउन सरकारका प्रतिनिधिहरुसँगै आफूहरु पनि फिल्डमा खटिएको जानकारी गराए।

यसअघि नवराज विकहरु, कालिकोटमा मनवीरे सुनार, मना सार्कीलगायत धेरै ठाउँमा धेरैको हत्या भएको उल्लेख गर्दै उनले आफूले कहिले पनि दलितको मुद्दा नछाडेको स्पष्टीकरण दिए।

‘हिजो नेल लगाएर आएको खगेन्द्र सुनार कहाँ छ भनेर खोजिएको थियो सदनमा, सडकमा। यहाँ छ खगेन्द्र सुनार। यो नेल लगाएर आएको खगेन्द्र सुनार हो, बाको दाइभाउजूको हातखुट्टामा तेल लगाएर खाएको खगेन्द्र सुनार होइन। नेल लगाएर आएको विद्रोहीलाई कतिबेला विद्रोह गर्नुपर्छ कतिबेला विरोध गर्नुपर्छ भन्ने कुरा बुझेर आएका छौं,’ उनले भने।

बालेनको विरोध गर्नेमा ‘बा’को विरोध गर्नसक्ने दम नभएको उल्लेख गर्दै सांसद सुनारले भने, ‘अहिले बालेन मुर्दावाद भन्ने क्रान्तिकारी साथि तपाइँकै छेउमा बसेको मित्र गृहमन्त्री हुँदै गर्दा ६–६ जना मान्छेको हत्या भएको थियो। अहिले बालेनको मुर्दावाद भन्ने कमरेड बाको मुर्दावाद भन्नसक्ने दम छ ?’

सुझावित समाचार