आज र भोलि पोखरामा नेपाल–भारत संयुक्त ऊर्जा बैठक

विद्युत् व्यापार, प्रसारण तथा लगानीका विषयमा छलफल हुने

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

नेपाल–भारत ऊर्जासचिव र सहसचिवस्तरीय १३औँ संयुक्त बैठक मंगलबार र बुधबार पोखरामा सुरु हुँदै छ । मंगलबार सहसचिवस्तरीय जोइन स्टेयरिङ कमिटी (जेडब्लुजी)को र बुधबार सविचस्तरीय संयुक्त निर्देशक समिति (जेएसी)को बैठक हुनेछ । बैठकमा विद्युत् व्यापार, प्रसारण तथा लगानीका विषय एजेन्डा हुनेछन् ।

मंगलबारको बैठक नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले नेतृत्व गर्नेछन् भने बुधबारको बैठकलाई भने सचिव सरिता दवाडीले नेतृत्व गर्नेछन् । भारतको तर्फबाट परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मनु महावारले नेतृत्व गर्नेछन् ।  

सन् २०१४ मा भएको नेपाल–भारत विद्युत् व्यापार सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण, निर्देशन एवं यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय र सहसचिवस्तरीय कार्यदल गठन गरिएको छ । ६–६ महिनामा यसको बैठक बस्ने प्रावधान भए पनि कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लोपटक २९ माघ ०८१ मा भारतको नयाँदिल्लीमा यसको बैठक भएको थियो । बैठकमा दुई सय २० केभीको चमेलिया–जौलजीवी अन्तरदेशीय प्रसारणलाइनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को विषयमा छलफल हुनेछ ।

यस्तै, भारतीय प्रसारणलाइन हुँदै थप २० मेगावाट विद्युत् बिक्री गर्ने गरी नेपाल–बंगलादेशबिच गत मंसिरमा भएको सहमति विषयमा पनि छलफल हुने बताइएको छ ।

नेपालले भारतीय प्रसारणलाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गर्दै आएको छ । त्यसमा यही बर्खादेखि थप २० मेगावाट विद्युत् निर्यात गर्ने गरी गत मंसिरमा सहमति भएको थियो । तर, भारतले सहमति नदिँदा त्यो लागू भएन । 

सुझावित समाचार