सल्यानको त्रिवेणी गाउँपालिकाले कृषकको उत्पादनलाई बजारीकरण गर्न सञ्चालन गरेको अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाभित्रका विभिन्न सहकारी संस्थामार्फत गत आर्थिक वर्षमा मात्रै चार करोड ७० लाख ७५ हजार ७६६ रुपैयाँ ५० पैसाबराबरको ९८ हजार २३ किलोबराबरको खसी बिक्री भएका छन्।
गाउँपालिकाको कृषि उत्पादन बजारीकरण अनुदान कार्यक्रमअन्तर्गत पाँचवटा सहकारी संस्थामार्फत ८७८ जना कृषकका दुई हजार ५८० वटा खसी बिक्री भएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाले जनाएको छ ।
गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न प्रतिकिलो १२ रुपैयाँका दरले नाै लाख ३३ हजार ५१६ रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यस्तै, व्यवस्थापन खर्चबापत प्रतिकिलो ५० पैसाका दरले ३८ हजार ८९६ रुपैयाँ खर्च गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । यस कार्यक्रमका लागि गाउँपालिकाले कुल नाै लाख ७२ हजार ४१२ रुपैयाँ बजेट खर्च गरेको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी सहकारीहरूमध्ये नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९० जना कृषकका ३१९ वटा खसी बिक्री भएका छन् । यस सहकारीमार्फत ६२ लाख आठ हजार ४५७ रुपैयाँ ५० पैसाबराबरको कारोबार भएको छ ।
यस्तै, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९१ जना कृषकका २९३ वटा खसी बिक्री भएका छन् । खसी बिक्रीबाट ५५ लाख २१ हजार २७५ रुपैयाँबराबरको कारोबार भएको छ ।
त्यसैगरी दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत सबैभन्दा धेरै २६७ जना कृषकका ९६२ वटा खसी बिक्री भएका छन् । उक्त सहकारीमार्फत ३२ हजार ४६३ किलो तौलका खसी बिक्री हुँदा एक करोड ७० लाख ५२ हजार ९४६ रुपैयाँबराबरको कारोबार भएको छ ।
त्रिवेणी साना किसान सहकारी संस्थामार्फत १७ जना कृषकका ७० वटा खसी बिक्री भएका छन् । खसी बिक्रीबाट १३ लाख ४६ हजार ३२० रुपैयाँ आम्दानी भएको छ ।