रौतहटमा खटिएका सबै चौकी इन्चार्जको एकैपटक काज सरुवा

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय रौतहटमातहतका विभिन्न प्रहरी चौकी तथा प्रहरी कार्यालयमा खटिएका ४७ जना प्रहरी कर्मचारीको एकैपटक काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयको आदेशअनुसार रौतहटमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षकदेखि प्रहरी सहायक निरीक्षकसम्मका ४७ जना प्रहरी कर्मचारीको एकैपटक काज सरुवा गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्लामा रहेका सबै प्रहरी चौकीका इन्चार्जलाई अर्को आदेश नआएसम्मका लागि काज सरुवा गरिएको छ।

असार २२ गते नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८३०८ अनुसार उनीहरूलाई अर्को आदेश नआएसम्मका लागि काज सरुवा गरिएको हो।

साथै, काज सरुवा भएका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरी काज खटिएको स्थानमा रवाना गर्न भनिएको पत्रमा उल्लेख छ। यस्तै, कुनै प्रहरी कर्मचारीको बिदा स्वीकृत भई बिदामा रहेको भए उक्त बिदा रद्द गरी कार्यालयमा स्ट्यान्डबाई राख्न पनि निर्देशन दिइएको छ।

काज सरुवा हुने सूचीमा सातजना वरिष्ठ प्रहरी नायब निरीक्षक, आठजना प्रहरी नायब निरीक्षक र ३२ जना प्रहरी सहायक निरीक्षक रहेका छन्। जिल्लामा दरबन्दी हुँदाहुँदै एकैपटक ठुलो संख्यामा काज सरुवा भएपछि प्रहरी संगठनभित्र तरंग उत्पन्न भएको प्रहरी कर्मचारीहरू बताउँछन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले प्रहरी प्रधान कार्यालयको एउटै पत्रबाट ४७ जना प्रहरी कर्मचारीको काज सरुवा भएको र अधिकांशलाई रवाना गरिसकिएको बताए।

उनले यसअघि विभिन्न समयमा रौतहटबाट अन्यत्र दरबन्दी भएका प्रहरी कर्मचारीलाई पनि रवाना गरिएको जानकारी दिए।

सुझावित समाचार