पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित मुसेटुँडामा २२ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । सम्पन्न आयोजनाबाट उत्पादित विद्युत्को परीक्षणसँगै प्राविधिक परीक्षणको काम सुरु भएको छ । आयोजनाको प्राविधिक परीक्षणपछि साउन दोस्रो साताबाट नियमित व्यावसायिक विद्युत् उत्पादन सुरु हुनेछ ।
सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित आयोजनामा डोल्मा इम्प्याक्ट फन्डमार्फत स्वेड फन्ड, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, डिएफसी, एफएमओ, जाइका, आइएफसीलगायत विदेशी संस्थाको समेत लगानी रहेको छ । आयोजनाको शुक्रबार नेपालका लागि युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेन्जोले उद्घाटन गरेकी थिइन् ।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७८ मा निर्माण सुरु गरिएको आयोजना समयमै निर्माण सम्पन्न भएको आयोजनाका निर्देशक दीपक बरालले जानकारी दिए । पाँच अर्ब पाँच करोड लागतमा निर्माण गरिएको आयोजनाको पोखरा– ३३ स्थित तिकलाङमा रहेको बाँधबाट तीन हजार एक सय ६ मिटर लामो सुरुङमार्फत पानी विद्युत्गृहमा लगिएको छ । विद्युत्गृहबाट सात सय ८० मिटर लामो पेनस्टकमार्फत पानी पावरहाउससम्म पुर्याइएको छ ।