नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट प्राथमिक सेयर निष्कासन (आइपिओ) स्वीकृतिको प्रक्रिया अघि बढ्न नसक्दा ओभर द काउन्टर (ओटिसी)मार्फत सेयर किनबेचको चाप परेको छ । ओटिसीमार्फत चालू आर्थिक वर्ष ०८२/८३ को १ साउनदेखि ५ असारसम्म चार अर्ब ६३ करोड ७१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । सो अवधिमा विभिन्न कम्पनीका दुई करोड ७० लाख ५९ हजार एक सय पाँच कित्ता सेयर किनबेच भएको हो । आर्थिक वर्ष ०८१/८२ मा ओटिसी बजारमा ४७ कम्पनीको कुल २० लाख ६९ हजार ६ सय सात कित्ता सेयर दुई अर्ब ९५ करोड ४३ लाख १३ हजार ६ सय ७९ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो । चालू आवमा गत आवको झन्डै दोब्बरले कारोबारमा वृद्धि भएको हो ।
सेबोनको पाइपलाइनमा लामो समयदेखि कम्पनीको आइपिओ स्वीकृतिको पर्खाइमा छन् । सेबोनको पाइपलाइनमा ६९ अर्ब ३० करोड ७७ लाख रुपैयाँबराबरको पुँजी स्वीकृतिको चरणमा छन् । पाइपलाइनमा तीन वर्षदेखि विभिन्न कम्पनीका ४७ करोड २८ लाख ९४ हजार एक सय ६३ कित्ता सेयर छन् । लामो समयदेखि आइपिओ स्वीकृत नहुँदा लगानीकर्ता ओटिसीमार्फत सेयर किनबेच गर्न बाध्य भएका हुन् । बोर्डको तथ्यांकअनुसार ०८० सालमा मात्रै आइपिओ निष्कासनका लागि अनुमति मागेर बसेका १५ वटा कम्पनी छन् । त्यस्तै, ०८१ मा ४१ वटा, ०८२ मा ३७ र ०८३ मा १० वटा कम्पनीहरूको आइपिओ सेबोनको अनुमति पर्खिएर बसेका छन् ।
सेबोनका निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीको आइपिओ निष्कासन रोकेका थिए । संसद्को दुई समितिको फरक–फरक निर्देशन दिएपछि यो विषय थप गिजोलिएको थियो । संसद्को सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डलाई पत्राचार गर्दै वास्तविक नेटवर्थ (पुनर्मूल्यांकनबाहेक) ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आइपिओ जारी गर्न रोक लगाउन निर्देशन दिएको थियो ।
बोर्डले उक्त निर्देशनलाई आधार मान्दै नेटवर्थ ९० नपुगेका १४ वटा कम्पनीलाई आइपिओ पाइपलाइनबाट हटाएको थियो । तर, अर्थ समितिले भने नेटवर्थ वा कानुनमा उल्लेख नभएका अन्य सर्तका आधारमा कम्पनीहरूको आइपिओ नरोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएपछि विवाद थप गिजोलिएको थियो । अर्थ र लेखा समितिको दुईथरी निर्देशनका कारण नेटवर्थ नपुगेका कम्पनीहरूलाई कसरी अगाडि बढाउने भन्नेबारे बोर्ड अलमलमा परेको थियो । त्यस्तै, आइपिओ स्वीकृतिको विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान अघि बढाएपछि आइपिओ स्वीकृतिमा बोर्डले थप ढिलाइ गरेको थियो ।
ओटिसी बजारमा नेप्सेमा सूचीकृत नभएका, सूचीकरण खारेज भएका वा पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भई कारोबार नगरिएका कम्पनीहरूको सेयर खरिद–बिक्री हुन्छ । यस बजारमा समीक्षा अवधिभर कुल दुई करोड ७० लाख ५९ हजार एक सय पाँच कित्ता सेयर हस्तान्तरण भएका छन् । यस आर्थिक वर्षको असार ५ गतेसम्म ओटिसी बजारमा भएको कारोबारबाट सरकारले कुल २६ करोड ४८ लाख ७२ हजार तीन सय १७ रुपैयाँ ५७ पैसा पुँजीगत लाभकर संकलन गरेको छ ।
कुन कम्पनीको किनबेच भयो ?
यस अवधिमा ओटिसी बजारमा धेरै कारोबार हुने कम्पनीमा सर्वोत्तम स्टिल्स, छिमेकी बजार व्यवस्था कम्पनी, स्नो रिभर्स, इसेवा, मिल्की वे सेयर ब्रोकर, सोलार फार्म र सानिमा हाइड्रोपावर छन् । यसैगरी, प्रभु क्यापिटल, सिटिजन्स क्यापिटल, आकाश क्यापिटल, माछापुच्छ्रे क्यापिटल, अल्फा क्यापिटल, अवसर इक्विटी र रिलायबल भेन्चर क्यापिटलको पनि ओटिसी बजारमा कारोबार भएको छ ।
हिमालयन ब्रोकरेज, सेक्योर्ड सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज, स्टक्स कार्टस् सेक्युरिटिज, हातवे स्टक डिलर, अनलाइन सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, रोड सो सेक्युरिटिज र नासा सेक्युरिटिज कम्पनीका सेयर पनि ओटिसी बजारमा किनबेच भएका छन् ।
जलविद्युत् क्षेत्रबाट गर्जाङ उपत्यका हाइड्रोपावर, गर्जाङ उपत्यका पावर, हिमशिला पावर, इलेक्ट्रो पावर र अपर बलेफी हाइड्रोपावरको कारोबार भएको छ । उद्योग तथा उत्पादन क्षेत्रबाट टाइम्स फर्मास्युटिकल्स, टाइम फर्मास्युटिकल्स, नेपाल सेरामिक इन्डस्ट्रिज, ज्यास्मिन पेन्ट्स, मंगलम इन्डस्ट्रिज, हाइलाइफ एग्रो एन्ड फुड्स इन्डस्ट्रिज र बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रिजका सेयर कारोबार भएका छन् ।
यस अवधिमा फोनपे, होटेल फरेस्ट इन, ग्रान्डी इन्टरनेसनल अस्पताल, बुढानीलकण्ठ हेरिटेज, लक्ष्य होल्डिङ्स, लक्ष्य हस्पिटालिटी एन्ड टुरिजम, सियन सिड सर्भिस सेन्टर, प्रोपर्टी विजार्ड, कृति भेन्चर फन्ड, फेडरल रि–इन्स्योरेन्स ब्रोकर्स र आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीका सेयर पनि ओटिसी बजारमा कारोबार भएका छन् ।
