कर्णालीमा विद्युत् अवरोध हटाउन यान्त्रिक क्रेन पठाइने

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

सरकारले कर्णाली प्रदेशमा विद्युत् आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ। कर्णालीमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या देखिएपछि मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्री विराजभक्त श्रेष्ठ दुई साताअघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेतलगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्याबारे जानकारी प्राप्त गरेका थिए। यस विषयमा नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रमुखले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए।

काठमाडौं फर्केपछि मन्त्री श्रेष्ठले विद्युत् अवरोध समाधानका लागि आवश्यक यान्त्रिक क्रेन पठाउन नियामक निकायसँग समन्वय गरेका हुन्। यससँगै सेवा अवरुद्ध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता कम भई विद्युत् मर्मत तथा सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ।

सुझावित समाचार