संखुवासभामा कृषि आधुनिकीकरण कार्यक्रमका योजनाहरूको अनुगमन

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ संखुवासभाले चालू आर्थिक वर्ष ०८२/८३ मा सम्पन्न कार्यक्रमहरूको अनुगमन गरेको छ।

आइतबार कार्यालयले चालू आर्थिक वर्षभित्र सम्पन्न गरेका महत्त्वपूर्ण योजनाको स्थलगत अनुगमन गरिएको हो। जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललगायतको टोलीले योजनाहरूको अनुगमन गरेको हो।

अनुगमन टोलीले खाँदबारी–८ स्थित रातमाटेमा साना सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत संहार कार्यक्रमअन्तर्गत पानी पोखरी निर्माण गरिएको योजना हेरेका थिए। बर्खामा खेतीका लागि पानी संकलन गर्ने र हिउँदमा आगलागीलगायत विपद्का घटनाहरू हुँदा सहज होस् भनेर पानी पोखरी निर्माण गरिएको स्थानीय धर्मदेवी स्वास्थ्य आमा समूहकी अध्यक्ष लक्ष्मी लिम्बू पाठकले जानकारी दिइन्। उनले यो क्षेत्रमा पानीको समस्या रहेकाले प्राकृतिक विपत्तिबाट बच्न, हिउँदे बालीनालीमा सिँचाइ र बर्खामा खेती रोपाइँ गर्न सहज होस् भनेर पानी पोखरी निर्माण गरिएको बताइन्।

उक्त पानी पोखरी निर्माण गर्न कार्यालयले ४ लाख ९ हजार ७३३ रुपैयाँ सहयोग गरेको छ भने जनसहभागितामा २ लाख १५ हजार ३० रुपैयाँ र स्थानीय सरकारबाट ६ लाख रुपैयाँ गरी कुल १२ लाख २७ हजार ७६३ रुपैयाँ खर्च भएको आमा समूहले जनाएको छ।

त्यसैगरी, खाँदबारी–१ बजारमा सञ्चालनमा रहेको बिएनबी एकीकृत कृषि तथा पशुपालन फर्मको अनुगमन गरिएको छ। फर्मलाई रैथाने बालीहरूको प्रशोधन लेबलिङ तथा बजारीकरण सहयोग कार्यक्रमअन्तर्गत कार्यालयले २ लाख २० हजार रुपैयाँ सहयोग गरेको थियो। उक्त फर्मले खाँदबारी–३ मा रैथाने बालीहरू उत्पादन गरी बजारमा स्टल राखेर अर्गानिक रैथाने बाली बिक्री-वितरण गर्दै आएको छ।

खाँदबारी–३ मा सञ्चालनमा रहेको बुढाथोकी गाई तथा कृषि फर्मको समेत अनुगमन गरिएको छ। उक्त फर्मलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले चालू आर्थिक वर्षमा ५० प्रतिशत साझेदारीमा ३ लाख ९९ हजार ७५९ रुपैयाँ अनुदान सहयोग गरेको थियो। कृषक राजु बुढाथोकीले १० वटा गाई पाल्दै आएका छन् भने बर्सेनि गाई बिक्री-वितरण गर्दै आएको छ। उनले दैनिक दुई सय लिटर दुध बेच्छन्।

अनुगमन टोलीले खाँदबारी–४ मा सञ्चालनमा रहेको बाक्चे खोला सिँचाइ मुहानको समेत अनुगमन गरेको छ। सिँचाइ कुलो मर्मत सम्भार गर्न कुल ६ लाख ५० हजार रुपैयाँ लागेकोमा कार्यालयको तर्फबाट ५ लाख ५० हजार रुपैयाँ र बाँकी स्थानीयको जनश्रमदानबाट भएको हो। सिँचाइ कुलो मर्मत सम्पन्न भएपछि प्रत्यक्ष रूपमा ७० घरधुरी लाभान्वित भएका छन् भने ७ सय रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको कार्यक्रम कार्यान्वयन इकाइका कार्यालय प्रमुख नवराज गुरुङले बताए।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको कार्यालय संखुवासभामा चालू आर्थिक वर्ष ०८२/८३ मा संघीय सरकारबाट विभिन्न शीर्षकमा कुल ५ करोड ८१ लाख १६ हजार ५ सय रुपैयाँ कुल बजेट प्राप्त भएको थियो। तीमध्ये ५ करोड २५ लाख १३ हजार ५ सय रुपैयाँ (९२.१ प्रतिशत) खर्च गरिएको र महत्त्वपूर्ण योजनाहरूको अनुगमन गरिएको कार्यालय प्रमुख गुरुङको भनाइ छ।

सुझावित समाचार