मल अभावको सास्ती खेप्दै किसान

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

रोपाइँका लागि बर्सातले साथ दिए पनि यो वर्ष सरकारी अनुदानको मल नपाउँदा अप्ठ्यारोमा परेको किसानले गुनासो गरेका छन्। सिराहाको सुखीपुर नगरपालिका– ५, लडकन्हाका किसान दिनेश यादवले करिब पाँच बिघा धानखेतीका लागि एक किलो मलसमेत नपाएको गुनासो गरे। लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडसम्म आएका उनले भने, ‘गाउँमा मल बाँड्ने लाइसेन्स लिएका दुई कृषि सहकारी संस्था छन्, अहिलेसम्म मल नै बाँडेका छैनन्।’

सिराहाको गोलबजार नगरपालिका– ४, निपनियाँ गाउँकी किसान गंगा क्याप्छाकीले भनिन्, ‘एक बिघा पाँच कट्ठामा धान रोपाइँका लागि गाउँको कृषि सहकारीमा मल नै पाइएन।’ गाउँनजिकैको कृषि सहकारीमा पटक–पटक धाउँदा पनि नपाएपछि अर्को वडाको सहकारीबाट भनसुन गरी दुई बोरा डिएपी र एक बोरा युरिया ल्याएर काम चलाएको उनले बताइन्।

कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक चेवनकुमार खड्काले कतिपय पालिकाको कृषि शाखाले विक्रेता रहेका स्थानीय सहकारीलाई सिफारिस नदिने, सिफारिस पाएका सहकारीहरूले पनि कम्पनीले भनेको समयमा मल नउठाउने र किसानको आवश्यकताअनुसार वितरण नगर्दा समस्या भएको हुन सक्ने बताए । सीमावर्ती नवराजपुरका पाँचवटा सहकारीलाई पटक–पटक सूचना पठाउँदा पनि ५ असारको कोटाको मल बल्ल तीन दिनअघि मात्र लगेको उनले बताए । ‘कृषि सहकारीले पाएको कोटाअनुसारको मल बेलैमा उठाइदिँदा कम्पनी र किसान दुवैलाई सहज हुन्छ,’ उनले भने । 

आर्थिक वर्ष ०८२/८३ का लागि लहान शाखालाई प्राप्त कोटा आठ हजार दुई सय मेट्रिकटन युरियाको ९९ प्रतिशत र सात हजार तीन सय मेट्रिकटन डिएपीको ७४ प्रतिशत प्राप्त भइसकेको उनले बताए। 
 

See More On

सुझावित समाचार