उत्पादन घट्ने चिन्तामा किसान

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको बेलौरी नगरपालिका– ८, कलकत्ताका किसान चन्द्रमान राना यसपालि धानको उत्पादन घट्ने चिन्तामा छन् । रोपाइँको समयमा रासायनिक मल नपाएपछि तीन बिघा खेतमा मलविनै यो वर्ष उनले धान रोपेको बताए । ‘मैले मात्र होइन, गाउँमा सबैजसो किसान मलविनै रोपाइँ गरिरहेका छन्,’ रानाले भने, ‘मल कहीँ पनि पाइएन ।’ स्थानीय रिमझिम कृषि सहकारी संस्थाका व्यवस्थापकसमेत रहेका राना मलका लागि बुधबार धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय आएका थिए ।

सहकारीले यो सिजनमा रोपाइँका लागि ३२ क्विन्टल युरिया र चार क्विन्टल डिएपी मात्र पाएको रानाले बताए । ‘सहकारीले थोरै मल पाएको थियो, व्यवस्थापक भएर आफैँ लग्यो भन्लान् भनेर मैले मल लिइनँ,’ उनले भने, ‘गाउँमा १२ सय घरधुरी छन् । त्यति थोरै मल एकैछिनमा सकियो ।’ गाउँमा रहेको अर्को सहकारीमा पनि मल नरहेको उनले बताए । रासायनिक मलको प्रयोगले माटो बिग्रिसकेकाले मल नहाल्दा उत्पादन नहुने उनको भनाइ छ । रानाका अनुसार गत वर्ष पनि रोपाइँका वेला रासायनिक मलको अभाव भएको थियो ।

भजनी– ३, काँडाका किसान घनश्याम चौधरीले पनि यसपालि रासायनिक मल नहालेरै रोपाइँ सकेका छन् । स्थानीय समाजप्रति ग्रामीण सहकारीका अध्यक्ष रहेका उनले पानी नपरे पनि बोरिङ र पम्पसेटबाट गाउँमा अधिकांश किसानले मलविनै रोपाइँ सकेको बताए । यसपालि सहकारीले डिएपी मल पाँच बोरा र युरिया ७६ बोरा मात्र पाएको उनले जानकारी दिए । धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलाली र कञ्चनपुरमा रासायनिक मलको चरम अभाव छ । सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले आवश्यकताअनुसार मल वितरण गर्न सकेका छैनन् भने ती निकायमा मलको मौजदात पनि निकै कम छ ।

कृषि सामग्रीले गत वर्ष रोपाइँका वेला करिब एक हजार आठ सय टन डिएपी मल वितरण गर्दा पनि मलको अभाव थियो । यो सिजनमा भने एक सय ७७ टन मात्र बिक्री गरिएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका सूचना अधिकारी वरिष्ठ सहायक गणेशदत्त जोशीले जानकारी दिए । मौजदात रहेको ९५.५ टन निर्धारित कोटाका आधारमा बिक्री भइरहेको उनले बताए । कृषिले सबैभन्दा बढी कैलालीमा एक सय २७.५ टन डिएपी बिक्री गरेको छ ।

गत सिजनमा रोपाइँका लागि करिब साढे तीन हजार टन युरिया वितरण गरेकोमा यसपालि हालसम्म एक हजार दुई सय टन मात्र बिक्री भएको कार्यालयको तथ्यांक छ ।

सुझावित समाचार