रासायनिक मलको अभावबिच किसानले देशभर ४५.८१ प्रतिशत रोपाइँ सकेका छन्। समयमै अकासे पानी नपर्दा रोपाइँका लागि जमिन ठिक्क पारेर बसेका किसान मल अभावमा थप पीडित बनेका छन् । कृषि विभागका अनुसार बागमती, लुम्बिनी र सुदूरपश्चिममा रोपाइँ हुने आधा क्षेत्रफलमा धान रोपिसकेका छन्।
कृषि मन्त्रालयका अनुसार रोपाइँका लागि कम्तीमा एक लाख २० हजार टन युरिया र ८० हजार टन डिएपी खपत हुन्छ। तर, देशभरका गोदाममा हाल ९५ हजार पाँच सय ९२ टन मात्रै मौज्दात छ। यसमध्ये युरिया ४९ हजार एक सय चार टन, डिएपी २४ हजार १२ टन तथा पोटास १९ हजार चार सय ७५ टन मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ। मौज्दात परिमाण मागको तुलनामा न्यून हो।
चालू आर्थिक वर्ष ०८२/८३ को हालसम्म पाँच लाख १८ हजार दुई सय ७८ टन मल बिक्री भइसकेको मन्त्रालयको तथ्यांक छ । यसमध्ये तीन लाख सात हजार १६ टन र डिएपी एक लाख ९२ हजार नौ सय ३१ टन बिक्री भइसकेको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, पोटास १८ हजार तीन सय ३० टन बिक्री भएको छ । जिटुजी प्रक्रियामार्फत भारतबाट ५० हजार टन मल आयातको प्रक्रियामा छ । रोपाइँका वेला मलको अभाव खेपेका किसानले भदौमा हुर्केको ‘रोपो’मा युरिया हाल्नसमेत सास्ती खेप्नुपर्ने जोखिम बढेको छ । ‘टप ग्रेसिङ’का लागि करिब एक लाख टन युरिया खपत हुने अनुमान भए पनि त्यसका लागि भदौभर आपूर्ति व्यवस्थाको सुनिश्चितता भइसकेको छैन ।