एकैपटक सबै विषयमा संविधान संशोधन खोल्दा ‘दुर्घटना’ हुन सक्छ : गगन थापा

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन नागरिकले प्राप्त गरेका अधिकारहरू संकुचित गर्न नभई थप विस्तार, सुदृढ र गहिरो बनाउने उद्देश्यमा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले एकैपटक संविधान संशोधनका सबै विषय खुला गरिए अराजकता र ‘दुर्घटना’ निम्तिन सक्ने चेतावनी दिएका छन्।

‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले यसको पुनरावलोकन स्वाभाविक र आवश्यक भएको बताए। संविधानले पनि निश्चित विषयमा १० वर्षपछि पुनरवलोकनको परिकल्पना गरेको उनले उल्लेख गरे।

उनले संविधान निर्माण सशस्त्र द्वन्द्वपछिको संक्रमणकालीन परिस्थितिमा भएको स्मरण गर्दै त्यसवेला विभिन्न आन्दोलनरत पक्षसँग भएका राजनीतिक सहमति र सम्झौताले संविधानप्रति अपनत्व र स्वामित्व स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। संविधान संशोधनको बहस अघि बढाउँदा त्यस ऐतिहासिक पृष्ठभूमि, राजनीतिक सहमति र नागरिकका अधिकारको संरक्षणलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो।

थापाले संविधान संशोधनका लागि सरकारले अपनाएको प्रक्रिया उपयुक्त नभएको टिप्पणी गर्दै सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा वा संसदभित्रै समिति गठन गरेर प्राथमिकता तय गर्दै अघि बढ्नुपर्ने सुझाव दिए।

सुझावित समाचार