कुमारी बैंक र डच स्पार्कासेनस्टिफ्टुङबिच साझेदारी

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

कुमारी बैंकले दिगो बैंकिङ अभ्यास प्रवर्द्धन गर्न जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थितिकीय रूपान्तरण अभियानअन्तर्गत यो साझेदारी गरिएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डच स्पार्कासेनस्टिफ्टुङका एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरे । दिगो बैंकिङका लागि दुई चरणको खाकामा हरित बैंकिङ अभ्यासलाई संस्थागत र विस्तार गर्न यो साझेदारीलाई चरणमा विभाजन गरिएको बताइएको छ ।

‘यो सम्झौता हाम्रा लागि दिगो बैंकिङ अभ्यासको निर्णायक कदम हो,’ बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने । साझेदार संस्थाको प्राविधिक सहयोग र नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनमा बैंकले हरित वित्त, न्यून कार्बन उत्सजर्न अनि दिगो तथा उत्थानशील उद्यमशीलता प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा राखेको छ ।

सम्झौताअनुसार, डच स्पार्कासेनस्टिफ्टुङले आफ्ना स्वामित्वमा रहेका विशेष प्राविधिक पद्धति जस्ता इसजी रिस्क राडर र सस्टेनेबल फाइनान्स कम्पास आदि उपलब्ध गराई प्राविधिक सहयोग पुर्याउने बताएको छ । यसका साथै, ग्रामीण क्षेत्र र साना तथा मझौला उद्योगहरूको सबलीकरण र हरित उद्यम क्षमता अभिवृद्धि गर्न डिस्क बिजनेस गेम पनि सञ्चालन गरिने बैंकको भनाइ छ । यो सहकार्यले नेपालको दिगो आर्थिक विकास र स्वच्छ एवं जलवायु उत्थान भविष्यतर्फको यात्रामा महत्वपूर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ ।
 

सुझावित समाचार