समुदायको सहभागितामा क्षयरोग नियन्त्रण अभियान, टिबी च्याम्पियन क्लब गठन

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

समुदायको सहभागितामार्फत क्षयरोग नियन्त्रण अभियानमा सहयोग पुर्याउने उद्देश्यले सिराहाको कर्जन्हा नगरपालिका बडहरामालस्थित स्वास्थ्यचौकीमा टिबी च्याम्पियन क्लब गठन गरिएको छ।

समुदायमा क्षयरोगसम्बन्धी जनचेतना अभिवृद्धि, सम्भावित बिरामीको समयमै पहिचान, उपचाररत बिरामीलाई मनोसामाजिक सहयोग तथा सामाजिक लाञ्छना र विभेद न्यूनीकरणमा सघाउन मंगलबार क्लब गठन गरिएको स्वास्थ्य कार्यालय सिराहाका क्षयकुष्ठ अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिए। नेपाल सरकार, ग्लोबल फन्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)बिचको त्रिपक्षीय साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा सञ्चालित क्षयरोग (टिबी) परियोजनाअन्तर्गत क्लब गठन गरिएको उनले बताए।

बागमती सेवा समाज नेपालका क्षयरोग परियोजनाका कार्यक्रम व्यवस्थापक नथुनीकुमार मण्डलका अनुसार क्लबले समुदायमा व्याप्त क्षयरोगसम्बन्धी भ्रम, गलत धारणा तथा सामाजिक लाञ्छना अन्त्य गर्न सकारात्मक पहल गर्ने उल्लेख गरे। सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न नेपालले समुदायको सक्रिय सहभागितामा विभिन्न क्रियाकलापहरू सञ्चालन भइरहेको जनाइएको छ।

स्वास्थ्यचौकी प्रमुख बलरामलाल दासले टिबी रोग निको भएका व्यक्तिहरूको अनुभव र नेतृत्वले सामाजिक लाञ्छना न्यूनीकरण तथा नयाँ बिरामीको पहिचानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। दुई साताभन्दा बढी लगातार खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउने वा राति अत्यधिक पसिना आउनेजस्ता लक्षण देखिएमा क्षयरोग लागेको हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। क्लबका अध्यक्ष धर्मनाथ यादवले समुदायमा क्षयरोसम्बन्धी सचेतना फैलाउने, सम्भावित लक्षण देखिएका व्यक्तिलाई समयमै परीक्षणका लागि प्रेरित गर्ने तथा उपचाररत बिरामीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। 

कार्यक्रममा कर्जन्हा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरकुमार सदा, बडहरामल स्वास्थ्यचौकी प्रमुख बलरामलाल दास, क्षयरोग फोकल पर्सन नन्दलाल यादव, ओपिडी फोकल पर्सन नवलेन्द्र अधिकारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, टिबी च्याम्पियन, शिक्षक, सञ्चारकर्मी, बागमती सेवाका कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता थियो।

सुझावित समाचार