बुधबार नेप्से परिसूचक ३०.०९ अंकले घटेर दुई हजार ६२१.५९ विन्दुमा कायम भएको छ। मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सेयर बजार १.१३ प्रतिशतले ओरालो लागेको हो।
बजार घट्दा कारोबार रकममा भने वृद्धि देखिएको छ। मंगलबार चार अर्ब ४० करोडबराबरको कारोबार भएकोमा बुधबार चार अर्ब ८२ करोड ६० लाख रुपैयाँबराबको सेयर किनबेच भएको हो। आज ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता सेयर खरिद–बिक्री भए।
बुधबार म्युचल फन्ड ०.११ प्रतिशतले वृद्धि हुँदा बाँकी सबै समूहमा गिरावट देखिएको छ। बैंक, विकास बैंक, वित्त, होटेल तथा पर्यटन, हाइड्रो, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र अन्य समूह एक प्रतिशतभन्दा धेरैले घटेका छन्।
आज कर्पोरेट विकास बैंक र उपकार लघुवित्त सर्वाधिक घट्ने कम्पनीको शीर्ष स्थानमा छन्। यी कम्पनी क्रमशः १३ र १० प्रतिशतभन्दा धेरैले ओरालो लागे। सर्वाधिक कमाउनेमा भने सिटिजन्स बैंक डिबेन्चरका लगानीकर्ता छन्। यो धितोपत्र आठ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।
कारोबार रकम र सेयर संख्याका आधारमा केबिएल डिबेन्चर शीर्ष स्थानमा छ। उक्त धितोपत्रको चार लाख ९७ एकाइ ६२ करोड ३९ लाख रुपैयाँभन्दा धेरैमा खरिद–बिक्री भएको हो।