‘सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ’

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले सरकार सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २५औँ वार्षिकोत्सव कार्यक्रममा उपाध्यक्ष भट्टले सुस्ताएको आर्थिक अवस्थालाई चलायमान बनाउँदै सरकारले अगाडि सारेको सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने योजनाका साथ काम गरिरहेको बताएका हुन् ।

उपाध्यक्ष भट्टले नेपालको गरिबी निवारण र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्था एक अग्रणी संस्था भएको प्रतिक्रिया दिए । 

कार्यक्रममा साना किसानका अध्यक्ष खेमबहादुर पाठकले सरकारले अगाडि बढाएका हरेक काम र कार्यक्रममा साना किसान अभियान सदैव सँगसँगै अगाडि बढेको बताए । यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले संस्थाको आर्थिक तथा व्यावसायिक प्रगतिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका १२ वटा शाखा कार्यालयमध्ये उत्कृष्ट शाखा कार्यालयका रूपमा शाखा कार्यालय नेपालगन्ज, राष्ट्रियस्तरमा सर्वोत्कृष्ट संस्था साना किसान कृषि सहकारी संस्था खैरहनी चितवन, साझेदार लघुवित्ततर्फबाट डिप्रोक्स लघुवित्त तथा कृषिबाहेकका साझेदार संस्थाबाट सिम्रिक बचत तथा ऋण सहकारी संस्था र काठमाडौं शाखा कार्यालयतर्फबाट अनैकोट काभ्रेपलाञ्चोकलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । 

सुझावित समाचार