जिल्ला अनुगमन समिति धादिङले होटेल संघका पदाधिकारीहरूले सञ्चालन गरेका होटेलहरूलाई कारबाही गरेको छ। खानेकुरामा किरा परेको, बासी र फोहोर खानाजस्ता अखाद्य वस्तु बिक्री गरेको भेटिएपछि कारबाहीस्वरूप जरिवाना गरिएको हो।
होटेल व्यवसायी संघका केन्द्रीय सचिव सन्तोषकुमार थापा क्षेत्रीको बेनीघाट रोराङ–३, सलाङघाटस्थित सफल होटेललाई २५ हजार, जिल्ला होटेल संघका अध्यक्ष रामशरण सिलवालको बेनीघाट रोराङ गाउँपालिका–३, सितलबजारस्थित होटेल तीन भाइलाई १० हजार र बेनीघाट रोराङ–३, सितलबजारस्थित ब्लु ह्यावन होटेललाई ५० हजार रुपैयाँ जरिवाना गराइएको हो।
फ्रिजभित्र किरा भेटिनु गम्भीर विषय रहेको पशु सेवा कार्यालय धादिङका प्रमुख डाक्टर बब्लु ठाकुरले बताए। ‘खानेकुरा नछोपी राखेको पाइयो। साङ्ला, कमिलाजस्ता किरा भेटिनु र यसले झाडापखाला महामारी हुन सक्ने हुँदा यो स्वास्थ्यमाथिको खेलबाड हो,’ उनले भने।
राजमार्ग क्षेत्रका होटेल तथा खाजा पसलहरूको अवस्था अत्यन्तै दयनीय भेटिएपछि जिल्ला अनुगमन समितिले बजार अनुगमनलाई तीव्रता दिएको छ। पृथ्वी राजमार्ग आसपासका होटेल तथा खाजा पसलहरूमा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका लापरबाही देखिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम (पाण्डेय)ले बताइन्।
जिल्ला होटेल संघका अध्यक्ष रामशरण सिलवालको होटेल तीनभाइमा बिक्रीका लागि राखिएका खानेकुरामा किरा परेको तथा सरसफाइको अवस्था कमजोर भेटिएको अनुगमन समितिका सदस्यसचिव उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चूडामणि पुरीले बताए। होटेल व्यवसायी संघका केन्द्रीय सचिव सन्तोषकुमार थापा (क्षेत्री)को होटेलको फ्रिजभित्र राखिएको खानेकुरामा समेत किरा भेटिएपछि कारबाही गरिएको हो। सरसफाइ नभएको र होटेल जताततै फोहोर भेटिएकाले कारबाही गरी निर्देशन दिइएको उनले बताए।
बेनीघाट रोराङ–३, सितलबजारस्थित ब्लु ह्यावन होटेललाई सबैभन्दा बढी ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। यसअघि गरिएको अनुगमनमा समेत उक्त होटेलमा कैफियत देखिएको कारण कडा कारबाही गरिएको हो। होटेलमा बिक्रीका लागि राखिएको खानेकुरामा किरा परेको, फ्रिजभित्र राखिएका सामग्रीमा समेत किरा देखिएको तथा अत्यन्त फोहोर अवस्थामा खाद्य सामग्री बिक्री गरिएको पाइएकाले जरिवाना तथा कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताइन्।
अनुगमन टोलीले राजमार्ग क्षेत्रमा यात्रु तथा उपभोक्तालाई सेवा दिने होटेल तथा रेस्टुरेन्टहरूले सरसफाइ र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ। राजमार्ग क्षेत्रमा यात्रुको ठुलो चाप रहने भएकाले गुणस्तरहीन तथा अस्वस्थकर खाद्य सामग्री बिक्रीले सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै यस्ता अनुगमनलाई आगामी दिनमा अझ कडाइका साथ निरन्तरता दिइने जिल्ला अनुगमन समितिले जनाएको छ।