नेपाल राष्ट्र बैंकले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित ‘पियर टू पियर’ लेनदेन सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गर्ने भएको छ। मंगलबार आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो।
केन्द्रीय बैंकले कर्जाको सुरक्षणस्वरूप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउन तथा चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्न विशेष नीतिगत व्यवस्था गर्ने जनाएको छ।
यसैगरी, रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन गर्न, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्न, संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण गर्न तथा सार्वजनिक सवारीका रूपमा प्रयोग हुने ठुला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ।