चुनदेवीमा अंकुराउँदै ‘देउवा कांग्रेस’

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

आन्तरिक एकताको सम्भावना क्षीण बनेको निष्कर्ष निकाल्दै कांग्रेस इतरपक्ष (शेरबहादुर देउवापक्ष)ले महाराजगन्ज चुनदेवीमा सम्पर्क कार्यालय नै खोलेर रणनीतिक छलफल थालेको छ । सोमबार उक्त कार्यालयमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य र उपलब्ध जिल्ला सभापतिहरूको विस्तारित बैठक बोलाएर छलफल थालेको हो ।

जेन–जी आन्दोलनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले कार्यवाहक सुम्पिएका पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरेलगत्तै विस्तारित बैठक सुरु भएको थियो । छलफल केही दिन चल्ने र ठोस निष्कर्ष निकाल्ने नेताहरूले बताएका छन् । सोमबारको बैठकमा खड्काले संस्थापन पक्षसँग भएका छलफलबारे ब्रिफिङ गर्दै आगामी रणनीतिबारे गहन बहस गरेर सामूहिक निष्कर्ष निकाल्नुपर्ने प्रस्ताव गरेका थिए । उनले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा एकतामा गम्भीर नभएकोसमेत बताएका थिए ।

‘हामी अहिले १४औँ महाधिवेशनबाट निर्वाचित शेखर कोइरालासहित १११ जना छौँ । १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरेका छौँ । १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरिसकेकाको हकमा फेरि अद्यावधिक किन चाहियो भनेका छौँ । ह्वाट्सएपमा पठाएको सातबुँदेको जवाफ विश्वजीलाई नै टाइप गर्न लगाएर दिएको हुँ । टाइप गरेपछि उहाँले पढेर सुनाउनुभयो । सभापतिलाई सुनाउँछु, तपाईं पनि नेताहरूलाई सुनाउनुस् भन्नुभयो । सभापतिलाई आफैँ गएर छलफल गर्नुस् भन्छु भन्नुभयो । त्यसपछि कुरा अघि बढेको छैन,’ खड्काको ब्रिफिङ उद्धृत गर्दै एक नेताले भने ।

ती नेताका अनुसार खड्काले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भइसकेको भनेर उपसभापति शर्माले बताएको पनि ब्रिफिङ गरेका थिए । तर, उक्त प्रस्तावलाई आफूले अस्वीकार गरेको खड्काको दाबी थियो । ‘यहाँ व्यक्तिको पदको विषय होइन, राजनीतिक संस्कार, पूर्वअभ्यास र आत्मसम्मानको विषय जोडिएको छ । व्यक्तिलाई पद बाँडेर समस्याको समाधान हुँदैन,’ खड्काको भनाइ उद्धृत गर्दै ती नेताले भने । खड्काले शीर्ष नेताहरूको क्रियाशील सदस्यता स्वतः नवीकरण हुने भनेर भ्रम फैलाइएपछि सामाजिक सञ्जालबाटै खण्डन गर्नुपरेको समेत बताएका थिए ।

आत्मसम्मानमा चोट पुग्ने गरी पार्टीमा जान नसकिने चेतावनी दिँदै सम्पर्क कार्यालय नै खोजेको इतरपक्षले सहमतिका लागि अझै प्रयत्न गर्ने पनि जनाएको छ । ‘संवादका लागि आधिकारिक ठाउँ बनेको छ । अब नेताको घरदैलो धाउनुपरेन । सम्पर्क कार्यालयमै सम्पर्क र छलफल गर्दा हुन्छ,’ नेता कुन्दनराज काफ्लेले भने, ‘आत्मसम्मानमा चोट पुग्ने गरी लत्रिएर जाने कुरा हुँदैन । त्यस्तो अवस्थामा नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने हुन्छ ।’ औपचारिक छलफल सुरु भएको र मंगलबार दिउँसो २ बजे पुनः बैठक बसेर थप छलफल हुने उनको भनाइ छ ।

१५औँ महाधिवेशनको निष्पक्षता, सबैको सुनिश्चितता र सर्वसम्मत निर्णयको आधारमा क्रियाशील सदस्यता टुंग्याउने विषय महŒवपूर्ण हुने र कांग्रेसको परम्परा पनि त्यस्तै रहेको नेता काफ्ले बताउँछन् । सोमबारको छलफलमा शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, एनपी साउद, प्रकाशशरण महतलगायत नेताहरू सहभागी थिए । नेता शेखर कोइराला भने विराटनगरमा भएकाले उपस्थित हुन नसकेको इतरपक्ष नेताहरूको दाबी छ । विराटनगरबाट फर्किएपछि शेखर पनि कार्यालय आउने कुरा भएको एक नेताले बताए ।

संस्थापन पक्षले वार्ताका लागि औपचारिक खबर गरेर शेखर कोइरालासहित वार्तामा बस्न तयार रहेको इतरका नेता प्रकाशशरण महतले बताए । ‘मिलाउन चाहने हो भने नमिल्ने कुरा हुँदैन । मिलाउनै नचाहेको हो भने जे पनि हुन सक्छ,’ उनले भने । संस्थापन पक्ष लचिलो नभए छुट्टै १५औँ महाधिवेशनको तयारी थाल्ने चेतावनी इतरपक्षको छ । त्यसका लागि विस्तारित बैठक हुँदै राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी छ ।

बिपी स्मृति दिवस छुट्टै मनाउने
इतरपक्षले बिपी स्मृति दिवस छुट्टै मनाउने भएको छ । विस्तारित बैठकले आगामी ६ साउनमा बिपी स्मृति दिवस बनाउने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले बताए । १६५ वटै निर्वाचन क्षेत्रमा बिपी स्मृति दिवस मनाउने इतरपक्षको तयारी छ । आधिकारिक निर्णय भने विस्तारित बैठकको समापनको क्रममा आउने विश्वकर्माले जानकारी दिए । सम्पर्क कार्यालयबाट हुने गतिविधि, राष्ट्रिय कार्यकर्ता भेला र १५औँ महाधिवेशनबारे मंगलबार छलफल हुने उनको भनाइ छ ।

संस्थापन र इतरपक्षको मुख्य टसल के हो ? 
इतरपक्षले १५औँ महाधिवेशनमा भाग लिन सदस्यता अद्यावधिक आवश्यक नरहेको अडान लिएको छ । १४औं महाधिवेशनको केन्द्रीय कार्यसमिति स्वतः महाधिवेशन प्रतिनिधी रहन पाउनुपर्ने तर्क गरेको छ । तर, संस्थापनले क्रियाशील सदस्यता अद्यावधिक विना महाधिवेशनमा भाग लिन नमिल्ने र एकपटक केन्द्रीय सदस्य भइसकेपछि सधै विशेषाधिकार प्रयोग गर्नु ठिक नभएको बताउँदै आएको छ । केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म नै वडाबाटै चुनिएर महाधिवेशनमा आउनुपर्ने प्रावधान विधानमै भएकाले त्यसबाहिर जान नसकिने संस्थापनको स्पष्ट लाइन छ ।

महाधिवेशनमा सबै पक्षको सहभागिता र महाधिवेशनको निश्पक्षतामा इतरपक्षले शंका तेर्स्याएको छ । इतरपक्षका केही नेतालाई वरिष्ठ नेता बनाउने संस्थापनको प्रस्तावलाई पनि अस्वीकार गरेको छ ।

‘पार्टी एकता गर्न खोज्नुभएको थियो भने अहिलेका सभापति महामन्त्री हुँदा आफैं सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर टुंग्याएको क्रियाशील सदस्यतामा नयाँ मापदण्ड किन ?,’ इतरपक्षका नेता मीन विश्वकर्माले प्रश्न उठाउँदै भने, ‘सभापतिले नै विवाद सिर्जना गर्ने काम गर्नुभयो । सदस्यता अद्याविधक गरेकाले नै पार्टी छाडिरहेको स्थिति देखिएको छ ।’

संस्थापनले भने १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको समायोजन व्यवहारिक नहुने ठहर गरेको छ । ‘साथीहरूले धमाधम क्रियाशील सदस्यता अद्यावधिक गर्नुभएको छ । विधान सबैलाई समान रुपमा लागू हुन्छ । कसैको अद्यावधिक हुने, कसैको नहुने भन्ने कुरा न्यायोचित हुँदैन,’ क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्यसमेत रहेका सहमहामन्त्री प्रकाश स्नेहीले भने, ‘विधानले नचिन्ने, अराजनीतिक विषयलाई कसैले पनि इगोको रुपमा लिनु हुँदैन, अब त्यो सम्भव छैन । केन्द्रीय सदस्य मात्रै होइन, पदाधिकारी पनि वडाबाटै चुनिएर महाधिवेशनमा आउनुपर्छ ।’

सभापति गगनले फेरि पनि भने– महाधिवेशनको मिति सार्न सकिएला, तर सदस्यता अद्यावधिक नगरी प्रतिनिधी बन्न मिल्दैन
इतरपक्षले महाधिवेशनका लागि सदस्यता अद्यावधिक आवश्यक नरहेको जोड गरिरहँदा सभापति गगन थापाले यस्तो गर्न नमिल्ने फेरि पनि बताएका छन् । जनसम्पर्क समिति जापानको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले बरु महाधिवेशनको मितिका सन्दर्भमा छलफल गर्न सकिने बताएका हुन् ।

‘केही साथीहरू बाहिर हुनुहुन्छ, उहाँहरूलाई पटक–पटक भनेको छु– १५औँ महाधिवेशन सफल बनाउन के–के गर्नुपर्ने हो, म ती सबै कुराहरू गर्न तयार छु । महाधिवेशनको मितिमा छलफल गर्न तयार छु । पार्टीको सदस्यता छानबिन समिति बनाउने, निर्वाचन समिति, अनुशासन समितिबारे पनि छलफल गर्न तयार छु,’ उनले भने, ‘तर, क्रियाशील सदस्यता अद्यावधिक नगरी महाधिवेशनमा भाग लिन पाइँदैन । यो सम्भव छैन, त्यसको पछि लाग्ने काम नगरौँ ।’

विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति बनिसकेको र त्यसमा केही सदस्य मनोनित गर्न सकिने, तर अघिल्लो केन्द्रीय कार्यसमितिलाई मिसाउन विधानले नदिने उनले स्पष्ट पारे ।

सुझावित समाचार