घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका निमित्त प्रमुखसहित दुई पक्राउ

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र राजविराजका निमित्त प्रमुखसहित दुई कर्मचारीलाई घुस रकम र चेक लिँदै गर्दा पक्राउ गरेको छ। आयोगको इटहरी कार्यालयका प्रमुख यज्ञ पुरीका अनुसार केन्द्रका निमित्त प्रमुख डा. रामपवित्र दास र उनका सवारीचालक भागेन्द्र यादवलाई पक्राउ गरिएको हो।

सोही केन्द्रका करार भ्याक्सिनेटर पदमा कार्यरत कर्मचारीहरूले काम गरेबापत पाउनुपर्ने पारिश्रमिकबाट २० प्रतिशत ‘कमिसन’ मागेको भनी विशेष सूचनाका आधारमा आयोगबाट टोली खटिएको थियो। प्रहरी नायब उपरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले निमित्त प्रमुख डा. दासकै कार्यकक्षमा सवारीचालक यादवले भ्याक्सिनेटरहरूबाट घुस लिएको ३३ हजार ३५० र अन्य स्रोत नखुलेको ४८ हजार ७० रुपैयाँ गरी कुल ८१ हजार ४२० रुपैयाँ नगद बरामद गरेको उनले जानकारी दिए।

फरक–फरक रकम उल्लेख भएको ५ थान चेक र दुवैजनाको १–१ थान मोबाइलसमेत बरामद गरिएको उनले बताए। घुस र चेकसहित पक्राउ गरिएका निमित्त प्रमुख डा. दास र सवारीचालक यादवमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

सुझावित समाचार