प्रशिक्षकहरूको धमाधम राजीनामा

दक्षिण कोरिया, उरुग्वे, चेक गणतन्त्र, स्कटल्यान्ड र इक्वेडरका प्रशिक्षकले राजीनामा दिँदा ट्युनिसियाका बर्खास्तीमा परे

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण
प्रशिक्षकहरूको धमाधम राजीनामा

ट्युनिसियाका प्रशिक्षक हेर्भे रेनार्ड

विश्वकपको समूह र नकआउट चरणका खेलको समाप्तिपछि क्रमशः सहभागी टोली घर फर्किरहेका छन् । कतिपय समूह चरणमा खराब प्रदर्शन र नकआउट चरण पार गर्न नसकेका प्रशिक्षकले पद गुमाएका छन् । यसको पछिल्लो उदाहरण ट्युनिसियाका प्रशिक्षक हेर्भे रेनार्ड हुन् । चालू विश्वकपमा अफ्रिकाबाट १० राष्ट्रले सहभागिता जनाउँदा नौ टोलीले नकआउट चरणमा स्थान पक्का गरेका थिए । राउन्ड अफ ३२ स्थान बनाउन नसकेको एक मात्र अफ्रिकन टोली ट्युनिसिया हो ।

विश्वकपको समूह चरणबाटै बाहिरिएको ट्युनिसियाले आइतबार मुख्य प्रशिक्षक रेनार्डलाई बर्खास्त गरेको हो । ५७ वर्षीय रेनार्डले बर्खास्तीलाई सामान्य रूपमा लिएका छन् । ट्युनिसियालाई नकआउट चरणमा पुर्याउने लक्ष्य पूरा नहुँदा कुनै दिन बर्खास्तीमा पर्ने उनले जनाए । ‘टोलीलाई राम्रो नतिजा दिलाउन सकिनँ । कुनै दिन यस्तो खबर आउने पक्का थियो,’ उनले भने, ‘ढिलै आयो, तर यसका लागि तयार थिएँ ।’ समूह चरणमा ट्युनिसियाले जापानलाई ३–१ तथा नेदरल्यान्ड्सलाई ४–० को नतिजा सुम्पिएको थियो । 

ट्युनिसियाले प्रशिक्षकमाथि तत्काल कारबाही गरेको थिएन । टोली घर फर्किएको केही दिनपछि फुटबल संघको कार्यकारी बैठकले मुख्य प्रशिक्षक रेनार्डलार्ई बर्खास्त गर्ने निर्णय गरेको बिबिसीले जनाएको छ । ‘ट्युनिसियाको जर्सीमा विश्वकपमा अफिसियलका रूपमा सहभागी हुन पाउँदा गर्व महसुस गरेँ । वाचा पूरा गर्न नसके पनि प्रत्येक खेल अविस्मरणीय रह्यो,’ उनले भने ।

यसैगरी, दुईपटकको विजेता उरुग्वेलाई नकआउट चरणमा पुर्याउन नसकेका प्रशिक्षक मार्सेलो बिएल्साले राजीनामा दिएका छन् । उनको नेतृत्वमा रहेको उरुग्वेको विश्वकप यात्रा समूह चरणसम्म रह्यो । विश्वकपमा नकआउट चरणमा पुग्ने आशा गरेको दक्षिण कोरियाको यात्रा पनि समूह चरणसम्म रह्यो । समूह ‘ए’मा सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण कोरियाले त्यसपछि आफूअनुकूल नतिजा निकाल्न नसक्दा समूह चरणबाटै बाहिरियो । प्रशिक्षक होङ म्योङ–बोले समर्थकसँग माफी माग्दै पदबाट राजीनामा दिए । 

यसैगरी, चेक गणतन्त्र र स्कटल्यान्ड नकआउट चरणमै सीमित भयो । चेकका प्रशिक्षक मिरोस्लाभ कोबेकले सहमतिमा पद छाडेका छन् । स्कटल्यान्डका स्टिभ क्लार्कले राजीनामा दिने तयारी गरेका छन् । इक्वेडरले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे पनि प्रतियोगिताबाट बाहिरियो । प्रशिक्षक सबास्टिन बेकासेस टोलीलाई मुख्य गन्तव्यसम्म पुर्याउन नसकेको जनाउँदै राजीनामा दिए । 

सुझावित समाचार