सशस्त्रको विद्यालयमा ११ करोड हिनामिनाः बैंकका कर्मचारीको भूमिका पनि शंकास्पद

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण
सशस्त्रको विद्यालयमा ११ करोड हिनामिनाः बैंकका कर्मचारीको भूमिका पनि शंकास्पद

पक्राउ परेका लीला तामाङ र कल्पना गुरुङ

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा भएको हिनामिनामा बैंकका कर्मचारीको भूमिकासमेत शंकास्पद देखिएको छ। किर्ते हस्ताक्षर गरिएका चेकबाट समेत बारम्बार पैसा निकालिएको पाइएको छ । 

विद्यालयको रकम एनआइसी एसिया बैंकको कीर्तिपुर शाखामा छ। तर, पैसा भने सधैं लाजिम्पाट शाखाबाट निकाल्ने गरिएको छ । विद्यालयकै लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरुङकै योजनामा त्यसरी बिद्यालयको रकम गैरकानुनी रूपमा हिनामिना भएको हो। जसमा गुरुङ र उनका साथी लीलाबहादुर लामालाई प्रहरीले पक्राउ गरिसकेको छ। सो रकम इन्सपेक्टर गुरुङले लामालाई दिने गरेकी थिइन्। 

कतिपय अवस्थामा कनेक्ट आइपिएसमार्फत सिधैँ लामाका कम्पनीमा तथा चेकमार्फत पैसा निकालिन्थ्यो । यसरी करोडौँ रकम निकाल्दा प्रहरी अधिकारीको हस्ताक्षर किर्तेसमेत भएको र बैंकले कहिल्यै शंका नगर्ने भएकाले यसमा बैंकका कर्मचारीको पनि भूमिका शंकास्पद देखिएको छ । 

इन्स्पेक्टर गुरुङ लगातार पाँच वर्ष कीर्तिपुर विद्यालयको लेखापाल भएर काम गरेकी थिइन्। जबकी सशस्त्रमा लेखापालको हरेक वर्ष जिम्मेवारी हेरफेर हुने गरेको छ। विद्यालयको आम्दानी कल्याण कोषमा पठाउनुपर्नेमा उनले त्यो रकम आफैँ प्रयोग गर्दै आएकी थिइन्। ब्याजको लोभमा त्यसरी आफूले लामालाई दिएको उनले प्रारम्भिक सोधपुछमा बताएकी छिन्। सशस्त्रले डिआइजी युवराज अर्यालको नेतृत्वमा छानबिन गरेर कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो। यस प्रकरणमा बिद्यालयका तत्कालीन कमान्ण्डेन्ट, कल्याण शाखाका कर्मचारी तथा लेखा शाखाका अधिकारीसमेत छानबिनमा तानिने भएका छन्। 

को हुन् लामा ? 
इन्स्पेक्टर गुरुङसँग निकटस्थ रहेका लामा आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । उनीविरुद्ध यसअघि बैंक डकैती तथा लागुऔषधजस्ता मुद्दा दायर भएका थिए। जसमा उनलाई १० वर्ष कैद सजायसमेत भएको थियो। कैद भुक्तान गरेर उनी छुटेका हुन्। 

गुन्डागर्दी र आपराधिक गतिविधिबाट आर्जेको सम्पत्ति उनले रेस्टुरेन्ट, ट्राभल एजेन्सी तथा कपडाको व्यवसायमा लगाए। उनको भाउडे ब्रान्डको कपडा व्यवसाय छ। लाजिम्पाटमा ट्राभल एजेन्सी र रेस्टुरेन्ट छ। तीन वर्षअघि उनी नेपाल पर्यटन बोर्डको सदस्यमा समेत नियुक्त भएका थिए। तर, विवाद भएपछि उनलाई हटाइएको थियो। तीनै लामा अहिले सशस्त्र प्रहरीको हिनामिना मुछिएका हुन्। 

लेखा अधिकृतले विद्यालयको आम्दानी चलाउन सक्ने बुझेपछि उनले ब्याज दिने आश्वासनमा पैसा निकाल्न लगाएका थिए। तर, त्यसरी निकालेको पैसा डुबेपछि फिर्ता दिन नसकेका हुन्। सशस्त्र प्रहरीले आन्तरिक छानबिन गरी पैसा फिर्ता गराउन प्रयास गरे पनि नसकेपछि प्रहरीमा उजुरी दिएको हो । यसरी सशस्त्रको कल्याणकोषको रकम हिनामिना गरी गायब बनाएपछि सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गर्न लागिएको छ। 

सुझावित समाचार