अर्थ मन्त्रालयकै बजेटमा तीन अर्ब ८६ करोड रकमान्तर

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

वर्षको अन्त्यमा धमाधम रकमान्तर गर्ने पुरानो बेथितिले निरन्तरता पाएको छ । चालू आर्थिक वर्ष ०८२/८३ मा कुल २६ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ । तीन खर्ब चार अर्ब रुपैयाँ विनियोजित पुँजीगत बजेटसँग तुलना गर्ने हो भने त्यसको ६.६१ प्रतिशत रकमान्तर भएको छ । जेठ महिनासम्मको कुल पुँजीगत खर्च एक खर्ब ३२ अर्ब रुपैयाँसँग तुलना गने हो भने यो वर्ष भएको कुल रकमान्तर पुँजीगततर्फ भएको खर्चको झन्डै २० प्रतिशत हाराहारी हुन आउँछ ।

बजेट अनुशासनको मुख्य पहरेदार अर्थ मन्त्रालय आफैँ पनि रकमान्तरमा अगाडि देखिएको छ । अर्थ मन्त्रालयले कुल तीन अर्ब ८६ करोड २० लाख १७ हजार रुपैयाँबराबरको बजेट रकमान्तर गरेको छ । रकमान्तरको ठुलो हिस्सा कर प्रशासन, भन्सार, वित्तीय व्यवस्थापन तथा पूर्वाधार परियोजनातर्फको खर्चमा केन्द्रित छ ।

तथ्यांकअनुसार सबैभन्दा ठुलो रकमान्तर मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका लागि गरिएको छ । गत २५ चैतमा एमसिए नेपाललाई दुई अर्ब ८९ करोड दुई लाख ८० हजार रुपैयाँ रकमान्तर गरिएको छ । यो अर्थ मन्त्रालयले गरेको कुल रकमान्तरको करिब तीनचौथाइ हिस्सा हो । यसपछि दोस्रो ठुलो रकमान्तर अन्तर्राष्ट्रिय संघ तथा संस्थाको सदस्यता शुल्क तथा विविध अनुदान शीर्षकमा २० करोड रुपैयाँ रकमान्तर गरियो ।

त्यस्तै, महालेखा नियन्त्रक कार्यालयका लागि २३ पुसमा १७ करोड ५९ लाख दुई हजार रुपैयाँ र भन्सार सुधार कार्यक्रमका लागि २४ चैतमा १४ करोड ८७ लाख ५० हजार रुपैयाँ रकमान्तर गरिएको छ ।

सुझावित समाचार