तीन दिन बित्दा पनि सवारी दुर्घटनामा ज्यान गुमाएकी यमुना विकको शवको पोस्टमार्टम भएन

क्षतिपूर्ति र नाबालक सन्तानको भविष्य सुनिश्चित नभएसम्म शव नबुझ्ने परिवारको अडान

शनिबार, २० असार, २०८३
डिजिटल संस्करण

उदयपुरको मदन भण्डारी लोकमार्गमा तीन दिनअघि भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी २८ वर्षीया यमुना विक (अधिकारी) को शव अझै पोस्टमार्टम हुन सकेको छैन। उचित क्षतिपूर्ति र उनका दुई नाबालक सन्तानको भविष्य सुनिश्चित नभएसम्म शव नबुझ्ने अडानमा परिवार कायम रहेपछि पोस्टमार्टम प्रक्रिया रोकिएको हो।

उदयपुरगढी गाउँपालिका–३ निवासी यमुनाको गत असार १८ गते भएको दुर्घटनामा घटनास्थलमै मृत्यु भएको थियो। मोटरसाइकलचालक उनका श्रीमान् यमबहादुर विक गम्भीर घाइते भएका छन्। उनी हाल विराटनगरस्थित अस्पतालमा उपचाररत छन्।

शनिबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा मृतककी जेठानी सरिता विकले दुर्घटना भएको तीन दिन बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको आरोप लगाइन्। उनका अनुसार दुर्घटनापछि परिवार गम्भीर संकटमा परेको छ भने घाइते यमबहादुरको उपचारका लागिसमेत आर्थिक अभाव भइरहेको छ।

सरिताले परिवारले व्यक्तिगत लाभका लागि नभई ८ र १० वर्षका दुई नाबालक सन्तानको शिक्षा, पालनपोषण र भविष्य सुरक्षित गर्न कानुनबमोजिमको पाँच लाख रुपैयाँबाहेक थप पाँच लाख रुपैयाँ गरी कुल १० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको बताइन्। तर, ट्रकधनीले कुनै अतिरिक्त क्षतिपूर्ति दिन अस्वीकार गरेको उनको दाबी छ।

‘हामीले आफ्ना लागि केही मागेका होइनौँ। आमा गुमाएका र बुबा अस्पतालमा जीवन–मृत्युको संघर्ष गरिरहेका दुई नाबालक बालबालिकाको भविष्य सुरक्षित होस् भनेर थप पाँच लाख रुपैयाँ क्षतिपूर्ति मागेका हौँ,’ उनले भनिन्।

सरिताले प्रहरीले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोपसमेत लगाइन्। उनका अनुसार प्रहरी प्रशासनले पीडित परिवारलाई छलफलमा प्रभावकारी रूपमा सहभागी नगराई ट्रकधनी पक्षसँग मात्रै समन्वय गर्न खोजेको थियो। आफूहरूलाई ट्रकधनीसँग प्रत्यक्ष संवाद गर्न नदिएको, दबाब र अपमानजनक व्यवहारसमेत गरिएको उनको गुनासो थियो।

उनले घाइते यमबहादुरको उपचार खर्च जुटाउनसमेत कठिनाइ भइरहेको भन्दै सम्बन्धित निकाय, स्थानीय सरकार तथा सरोकारवाला पक्षलाई पीडित परिवारको पक्षमा आवश्यक पहल गर्न आग्रह गरिन्। साथै, दुर्घटनापछि आमाबुबाको सहाराबाट वञ्चित हुने अवस्थामा पुगेका दुई बालबालिकाको शिक्षा र पालनपोषणको स्पष्ट जिम्मेवारी सुनिश्चित नभएसम्म यमुनाको शव नबुझ्ने अडान यथावत् रहने उनले स्पष्ट पारिन्।

गत असार १८ गते मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ फुस्रे खण्डमा गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ त ४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २८४२ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा यमुनाको मृत्यु भएको तथा उनका श्रीमान् यमबहादुर गम्भीर घाइते भएका हुन्। दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईँले पीडित र ट्रकधनीबिच भएको छलफलमा सहमति हुन नसकेको बताए। उनका अनुसार कानुनबमोजिम सवारी दुर्घटनामा मृत्यु भएकाको परिवारले पाँच लाख रुपैयाँ राहत तथा घाइतेले उपचार खर्च पाउने व्यवस्था छ।

‘हामी कानुनअनुसार पीडितले पाउनुपर्ने राहत दिलाउन प्रतिबद्ध छौँ। तर पीडित पक्षबाट कानुनी व्यवस्थाभन्दा थप १० लाख रुपैयाँ क्षतिपूर्तिको माग आएपछि सहमति हुन सकेन। ट्रकचालक प्रहरी नियन्त्रणमै छन् र घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ। शवको पोस्टमार्टम हुन सकेको छैन,’ एसपी चापागाईँले भने।

सुझावित समाचार