०७९ जेठ २० । सोविता गौतमको फोन बज्यो । फोनमा भनियो, ‘एउटा महत्वपूर्ण काम हुँदै छ । रवि लामिछानेको नेतृत्वमा नयाँ अभियान सुरु हुँदै छ । तपाईं पनि हामीसँग जोडिनुहोस् ।’
केही क्षण उनी मौन भइन् । प्रस्ताव अनपेक्षित थियो । राजनीतिमा जाने योजना उनले बनाएकी थिइनन् । सडकमा आन्दोलन पनि गरिरहेकी थिइनन् । कुनै राजनीतिक दलको सदस्य पनि थिइनन् । युवा, कानुन, सामाजिक र नागरिक सरोकारका विषयमै सीमित थिइन् । तर, त्यो फोनले एउटा प्रश्न उनको मनमा रोपिदियो– के अब देश बदल्न बाहिर बसेर मात्रै सम्भव छ ?
राजनीतिसँग पहिलो सम्बन्ध
नेपालमा राजनीतिप्रति वितृष्णा नयाँ कुरा थिएन । भ्रष्टाचार, अस्थिरता र सत्ताको खेलले धेरै युवालाई राजनीतिबाट टाढा बनाएको छ । तर, सोविता राजनीतिलाई घृणा गर्दिनथिन् । बरु उनलाई राजनीतिप्रति सम्मान जाग्थ्यो । ‘राजनीति खराब होइन,’ उनी भन्छिन्, ‘राज्यलाई सही दिशामा लैजाने नीति बनाउने प्रक्रिया नै राजनीति हो । खराब त त्यसलाई चलाउने पात्र भए ।’
उनको बुझाइमा नीतिभन्दा नियत बिग्रियो । प्रक्रियाभन्दा पात्र असफल भए । त्यसैले, जनताले राजनीतिलाई दोष दिन थाले । सायद यही सोचले उनलाई अरू धेरै युवाभन्दा फरक बनायो । उनी राजनीतिलाई बाहिर बसेर गाली गर्नेभन्दा त्यसलाई सुधार्न सकिने प्रणालीका रूपमा हेर्थिन् । तर, त्यतिवेला पनि उनी राजनीतिमा आउने निर्णय गरिसकेकी थिइनन् । उनी युवाका मुद्दामा काम गर्थिन् । विभिन्न युवा सञ्जालसँग जोडिएकी थिइन् । सामाजिक उत्तरदायित्व, नेतृत्व विकास, नागरिक सहभागिता र कानुनी चेतनाका विषयमा सक्रिय थिइन् । कानुन पढेकी उनले समाजमा भइरहेका परिवर्तनलाई केवल भाषणमा होइन, संरचनागत समस्याका रूपमा बुझ्ने प्रयास गर्थिन् ।
युवाहरू किन निराश छन् ? देशबाट किन पलायन भइरहेका छन् ? राज्य किन नागरिकको विश्वास जित्न सकिरहेको छैन ? यी प्रश्नले उनलाई सधैँ पछ्याइरहन्थे । तर, उत्तर भेट्दिन थिइन् । उनलाई एउटा कुरा बारम्बार महसुस हुन्थ्यो– समस्याहरू अन्ततः राजनीतिमै गएर ठोक्किन्छ ।
२०७९ साल । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको थियो । प्रतिनिधिसभा निर्वाचनको घोषणा भयो । स्थानीय चुनावमा स्वतन्त्र र वैकल्पिक छविका उम्मेदवार बालेन्द्र शाह, हर्कराज राई र गोपी हमालले जित हात पारे । त्यो नेपाली राजनीतिमा वैकल्पिक शक्तिको उदयको संकेत थियो ।
त्यही समय, रवि लामिछाने नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा थिए । परिवर्तनको चाहना र नयाँ राजनीतिक धारको बहस चुलिँदै थियो । टेलिभिजनको पर्दामा उनी राज्यका कमजोरीमाथि प्रश्न उठाइरहेका हुन्थे । सोविताले त्यो सबै नियालिरहेकी हुन्थिन् । ‘मलाई उहाँले कानुन हातमा लिनुभएको जस्तो कहिल्यै लागेन । बरु राज्यले गर्नुपर्ने काम किन भइरहेको छैन भनेर प्रश्न गर्नुभएको लाग्थ्यो ।’ राज्यका कमजोरी जनतासामु ल्याउने, अन्यायमा परेका मानिसको आवाज बन्ने र सार्वजनिक संस्थालाई जवाफदेही बनाउन खोज्ने शैलीले उनलाई प्रभावित बनाएको थियो । सायद त्यसैले फोनमा ‘रवि लामिछाने’को नाम सुन्नासाथ उनको मनमा प्रश्न जाग्यो, ‘के साँच्चै केही नयाँ हुँदै छ ?’
त्यो पहिलो भेट
केही दिनपछि अर्को फोन आयो, ‘रवि लामिछानेले भेट्न खोज्नुभएको छ ।’ निर्धारित समयमा उनी लामिछानेको कार्यालय पुगिन् । अहिले पनि त्यो क्षण सम्झँदा उनलाई अनौठो लाग्छ । त्यतिवेलासम्म उनी कहाँ जाँदै छिन् भन्ने पूर्ण रूपमा थाहा थिएन । भेटमा रविले लामो भाषण सुनाएनन् । देशको अवस्था, राजनीतिक निराशा र वैकल्पिक राजनीतिको आवश्यकताबारे कुरा गरे । त्यसपछि उनले सोवितातिर हेरेर भने, ‘तपाईंले कानुन पढ्नुभएको छ । युवाका क्षेत्रमा काम गर्नुभएको छ । हामीलाई यस्तै मानिस चाहिएको हो ।’
त्यसवेला टिम बन्दै थियो । रविले भनेको कुरा सोविता ध्यान दिएर सुनिरहिन् । उनलाई राजनीतिमा केवल पद चाहिएको थिएन । अर्थपूर्ण भूमिका चाहिएको थियो । भेट सकिएपछि उनी केही समय सोचमग्न भइन् । उनका लागि राजनीतिक निर्णय सामान्य थिएन । राजनीतिमा लाग्दा भनेको प्रशंसा मात्र होइन, आलोचना पनि स्विकार्नु हो । निजी जीवन सार्वजनिक बन्नु हो, जोखिम मोल्नु पनि हो । उनले आफ्नै मनसँग प्रश्न गरिन्– ‘म राजनीतिमा किन जाने ?’
उत्तर सजिलो थिएन । तर, अर्को प्रश्न अझ गहिरो थियो– यदि राम्रो राजनीति चाहिन्छ भने त्यसमा राम्रो मानिस किन नजाने ?’ यस्ता प्रश्न उनको मनमा खेल्न थाले । ‘अरू कसैले भनेको भए सायद म सजिलै तयार हुने थिइनँ । तर, रवि लामिछानेको नेतृत्वप्रति मेरो विश्वास थियो,’ उनी स्मरण गर्छिन् ।
सोभिताले धेरैसँग सल्लाह लिन थालिन् । तर, अन्तिम निर्णय ? ‘तर जीवनमा महत्वपूर्ण निर्णय मनले गर्छु,’ उनी हाँस्दै भन्छिन् । पार्टीको प्रारम्भिक विधान हेर्न चाहन्थिन् । संगठनको संरचना बुझ्न चाहिन् । नयाँ पार्टी केवल नारामा सीमित छ कि संस्थागत सोच पनि छ भन्ने बुझ्ने जिज्ञासा थियो । पार्टीको विधान हेरिन् । त्यसपछि उनलाई चित्त बुझ्यो । उनले विधान सबै हेरेपछि सहमत भइन् । त्यसपछि उनको जीवनको यात्रा बदलिदियो । त्यही दिन संगठन निर्माणको जिम्मेवारी पनि आयो । उनलाई भनियो, ‘पार्टी घोषणा कार्यक्रम तपाईंले सञ्चालन गर्नुपर्छ ।’ उनले जिम्मेवारी स्वीकार गरिन् ।
घरभित्रको बहस
उनी नयाँ राजनीतिक यात्राका लागि तयार थिइन् । तर, घर परिवारलाई थाहा थिएन । ‘म पार्टीमा जाँदै छु,’ उनले परिवारलाई भनिन् । उनको त्यो शब्द सुनेपछि घरमा एकछिन सन्नाटा छायो । त्यसपछि प्रश्नहरूको वर्षा भए, ‘राजनीति गरेर के हुन्छ ?’ पढाइ किन बिगार्ने ? हाम्रो जस्तो सामान्य परिवारका मान्छे किन राजनीतिमा जानुपर्यो ?’ परिवारको यस्तो चिन्ता स्वाभाविक थियो । आमाले उनलाई धेरै सम्झाइन् । धेरै गुनासो पनि गरिन् । तर, छोरीको मनले निर्णय गरिसकेको थियो । त्यसवेला उनका जीवनसाथी (त्यतिवेला प्रेमी) ले साथ दिए ।
पार्टी बन्यो । अभियान बढ्दै गयो । एक दिन उनको परिवारबाट प्रश्न आयो– ‘अब चुनाव पनि लड्ने ?’ जवाफले परिवार फेरि अचम्ममा परे । ‘चुनाव लड्न पैसा कहाँबाट आउँछ ?’ यो प्रश्न उनको मात्र थिएन । तर, सोविताको उत्तर स्पष्ट थियो । ‘पैसाले होइन, विश्वासले चुनाव लड्ने हो ।’ यदि जनताले आफ्नो कुरा पत्याए जितिन्छ । नपत्याए हारिन्छ । तर, कम्तीमा एउटा प्रयास त गर्नुपर्छ । उनलाई थाहा थियो, वैकल्पिक राजनीतिले जित्नुअघि आफूलाई प्रमाणित गर्नुपर्छ ।
असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी औपचारिक रूपमा दर्ता भयो । पार्टी घोषणा कार्यक्रमको उद्घोषणको जिम्मा उनले पाइन् । कार्यक्रममा युवाहरूको उल्लेखनीय उपस्थिति थियो । छोटो समयमै पार्टी वैकल्पिक शक्तिका रूपमा उदायो । चार–पाँच महिनामै चुनावको अवस्था बन्यो । उनी सामूहिक तर आलोचनात्मक ढंगले पार्टीभित्र सक्रिय भइन् । उनका लागि चुनाव पहिलो परीक्षा थियो । त्यो परीक्षा उनले स्वीकार गरिन् । त्यसपछि राजनीतिमा उनको वास्तविक यात्रा सुरु भयो ।
सोविताको जीवनले फेरि एकपटक गति बदल्यो । यसअघि उनी नागरिकका रूपमा राजनीतिलाई नियालिरहेकी थिइन् । अब उनी आफैँ मतदाताको कठघरामा उभिएकी थिइन् । उनी जनताको प्रश्नको उत्तर दिनुपर्ने भूमिकाका लागि अघि सरिन् । निर्वाचनको तयारी सुरु भयो । उम्मेदवार छनोट प्रक्रिया अघि बढ्यो । उनी सुरुमा समानुपातिक सूचीमा रहने मनस्थितिमा थिइन् । तर, प्राविधिक कारणले दिनभरको अन्योलपछि उनको नाम सूचीमा समावेश भएन । त्यो क्षणले उनलाई नयाँ निर्णयतिर धकेल्यो । अन्ततः उनले प्रत्यक्षतर्फ चुनाव लड्ने साहसिक निर्णय गरिन् । काठमाडौं–२ बाट निर्वाचन लड्ने निर्णयमा पुगिन् । अन्तिम समयमा उनले उम्मेदवारी दर्ता गरिन् ।
चुनाव प्रचारमा घर–घर पुगिन् । आफ्नो एजेन्डा जनतालाई स्पष्ट सुनाइन् । व्यक्तिभन्दा विचारलाई अघि सारिन् । उनका प्रतिस्पर्धी थिइन्, पूर्वसभामुख ओनसरी घर्ती । अर्कोतर्फ रामेश्वर फुयाल पनि मैदानमा थिए । उता ठुला जुलुस र भिड हुँदा यता उनीसँग चार–पाँचजनाको सानो टोली हुन्थ्यो ।
चुनाव प्रचारको एक कार्यक्रममा पार्टी सभापतिले मञ्चबाट भने, ‘सोविताजस्ता छोरी देश हाँक्ने हुन् ।’ त्यो वाक्य आज पनि उनको स्मृतिमा ताजै छ । उनी सम्झिन्छिन्, ‘पहिलो सपना कसैले देख्नुपर्ने रहेछ ।’ त्यो वाक्य केवल प्रशंसा थिएन, जिम्मेवारीको संकेत पनि थियो । आफूमाथि राखिएको विश्वासले उनलाई अझ दृढ बनायो ।
चुनावी मैदानमा आकारभन्दा विश्वास ठुलो सावित भयो । शोभितालाई जनताले साथ दिए । उनी स्थापित पुराना दलका प्रभावशाली नेतालाई हराउँदै काठमाडौं–२ बाट विजयी भइन् । राजनीतिमा नयाँ अनुहार, नयाँ ऊर्जा र नयाँ आत्मविश्वासको संकेत पनि त्यहीँबाट देखिन थाल्यो । उनी भन्छिन्, ‘हाम्रो पुस्ता पनि चुनाव जित्न सक्छ भन्ने नजिर स्थापित भयो । राजनीति व्यक्तिको होइन, टिमको खेल हो । राजनीति कुनै एक व्यक्तिको क्षमता होइन । त्यो सामूहिक प्रयास हो ।’
नेपालमा यसअघि पनि वैकल्पिक राजनीतिक अभ्यास भएका थिए । केही दलले नयाँ राजनीतिक संस्कृतिको नारा पनि दिएका थिए । तर, ती अभियान जनताको व्यापक भरोसामा रूपान्तरण हुन सकेनन् । सोविताको विश्लेषण फरक छ । ‘केवल राम्रो विचार भएर पुग्दैन । त्यो विचारलाई जनतासम्म पुर्याउने, उनीहरूलाई विश्वास दिलाउने नेतृत्व पनि चाहिन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनुको एउटा प्रमुख कारण यही थियो । उनलाई लाग्यो, यसपटक वैकल्पिक राजनीतिको विचारसँग जनतालाई जोड्न सक्ने नेतृत्व पनि छ । उनलाई लाग्यो, ‘यो पार्टी युवाको मात्रै होइन, छोरीहरूको पनि हो ।’ पार्टी स्थापना हुँदै गर्दा उनी सबैभन्दा बढी चिन्तित भएको विषयमध्ये एक थियो– महिलाको स्थान ।
नेपालको राजनीतिक इतिहासमा महिलाले आन्दोलन गरेका छन् । जेल परेका छन् । संगठन बनाएका छन् । चुनाव जितेका पनि छन् । तर, निर्णायक नेतृत्वमा उनीहरू धेरै कम पुगे । उनलाई लाग्थ्यो, नयाँ पार्टीले पुरानै गल्ती दोहोर्याउनु हुँदैन । यो प्लेटफर्म युवाका लागि बन्नुपर्छ । महिलाका लागि बन्नुपर्छ । परिवर्तन चाहने इमानदार मानिसका लागि बन्नुपर्छ । पार्टीभित्रको प्रारम्भिक छलफलमा उनले महिला नेतृत्व सुनिश्चित गर्नुपर्ने विषय उठाइन् । त्यो केवल प्रतिनिधित्वको प्रश्न थिएन । उनी चाहन्थिन्, निर्णय गर्ने टेबलमै महिलाको उपस्थिति सुनिश्चित होस् । त्यसैले, उनले महिला उपसभापतिको व्यवस्था अनिवार्य हुनुपर्ने प्रस्ताव राखिन् । छलफल भयो । पार्टीमा समर्थन भयो । पार्टी नेतृत्व पनि सहमत भयो ।
आज उनी स्वयं त्यही व्यवस्थाअन्तर्गत पहिलो महिला उपसभापति निर्वाचित भएकी छिन् । तर, उनी यसलाई व्यक्तिगत उपलब्धिभन्दा ठुलो राजनीतिक सन्देश मान्छिन्, ‘म हुनु वा नहुनु ठुलो कुरा होइन । त्यो स्थानमा कुनै महिला पुग्नु नै ठुलो कुरा हो ।’
किन आवश्यक छ महिला नेतृत्व ?
सोविता भन्छिन्, ‘नेपाली राजनीतिमा महिलाको योगदान कम छैन । लामो समयसम्म महिला नेतृहरू आन्दोलनको अग्रपंक्तिमा रहे । तर, निर्णय गर्ने वेला उनीहरूलाई छायामा राखियो ।’ यही संस्कृतिलाई नयाँ पुस्ताले बदल्नुपर्ने उनी बताउँछिन् । ‘महिलालाई सजावटका लागि होइन, निर्णयका लागि ल्याउनुपर्छ,’ उनी भन्छिन् ।
उनको बुझाइमा महिलाको प्रतिनिधित्व कुनै दया होइन, लोकतन्त्रको गुणस्तर हो । देशको आधा जनसंख्याको अनुभव, दृष्टिकोण र संवेदनालाई निर्णय प्रक्रियाबाट बाहिर राखेर समावेशी राजनीति सम्भव नहुने उनको तर्क छ । संस्थापक सदस्यका रूपमा सुरु भएको यात्रा सचिवालय सदस्य हुँदै अहिले उपसभापतिसम्म आइपुगेको छ । ‘पार्टीसँग संगठन निर्माण गर्ने अवसर आएको छ । अब हामीले नेताहरू तयार गर्नुपर्छ,’ उनी भन्छिन् । त्यसका लागि नेतृत्व विकास, प्रशिक्षण, राजनीतिक शिक्षा र संगठन विस्तारलाई उनी प्राथमिकतामा राख्न चाहन्छिन् । विशेषगरी, युवालाई राजनीति सिकाउने र महिलालाई नेतृत्वमा ल्याउने दीर्घकालीन संरचना बनाउनुपर्ने उनी बताउँछिन् ।
सांसददेखि मन्त्रीसम्म
राजनीतिमा सोवितालाई प्रखर रूपमा मुखरित गराउने प्लेटफर्म हो संसद् । पुस ०७९ देखि भदौ ०८२ सम्म अढाइ वर्ष उनी प्रतिनिधिसभामा सांसदको भूमिमा रहिन् । सोविताले परम्परागत दलको सत्तालाई प्रश्न उठाउँदा व्यक्तिगत लाञ्छना खेप्नुपर्यो । यद्यपि, उनी कति पनि विचलित नभई दुईतिहाइ सत्ता हल्लाउने गरी भ्रष्टाचार र बेथितिविरुद्ध सुशासनका प्रश्न उठाइरहिन् । भिजिट भिसा प्रकरणको सशक्त उठान, भूमाफियालाई जग्गा बाँड्ने भूमि विधेयकविरुद्ध क्याम्पेन, पार्ट टाइम जबको वकालत, लालबहादुर विकको न्यायका लागि सदनमा आवाजदेखि इजलासमै बहस, हवाई सुरक्षाका लागि कानुनी सुधारको अभियानलगायत थुप्रै आवाजहरू उठाइन् । यो संघर्षले सदनमा उनलाई केवल युवाको प्रतिनिधि मात्र होइन, भ्रष्टाचारविरुद्धको निडर आवाजको रूपमा स्थापित गरायो । उनले सुशासनको पक्षमा उठाएको आवाजको खुलेर प्रशंसा गर्दै बेलायतको ‘द वन योङ वर्ल्ड’ले विश्वका प्रतिष्ठित युवा नेताको सूचीमा टप फाइभमा पारी ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड’ नै दियो । विश्वले रिकगनाइज गरे पनि भ्रष्टाचारविरुद्धका आवाज सत्ताले सुनेन । जेन–जी युवाले विद्रोह गरे । २१ फागुनमा चुनाव भयो । सोविता चितवन ३ बाट निर्वाचित हुँदै गर्दा रास्वपा १८२ सिटको झन्डै दुईतिहाइ बहुमतसहित पहिलो दल बन्यो । वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा १३ भदौमा बनेको सरकारमा सोविता सातौँ वरीयतामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनिन् । मन्त्री पद सम्हालेपछि सोविताले नागरिकले आफ्नो कानुन आफैँ बनाउने अभियान थालेकी छिन् । नागरिकले कानुन जाने भने धेरै कुरा ठिक हुने र व्यावहारिक कानुन बन्न सहयोग पुग्ने र यसले सुशासन र सेवा प्रवाहलाई टेवा पुग्ने बुझाइ गौतमको छ । उनी भन्छिन्, ‘हिजो प्रश्न उठाउने ठाउँमा थिए । आज प्रश्न उठ्न नदिने गरी कानुन बनाउने र प्रणाली बसाल्ने सामूहिक कोसिसमा छौँ ।’