लहानका सामुदायिक विद्यालयलाई स्मार्ट बोर्डसहित शैक्षिक सामग्री हस्तान्तरण

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै गुणस्तरीय  पठनपाठनका लागि सिराहाको लहान नगरपालिकाले स्मार्ट बोर्डसहित शैक्षिक सामग्री वितरण गरेको छ।  संघीय सरकारको एक करोड २७ लाख रुपैयाँ विशेष अनुदानको बजेटबाट लहान १२, १५ र २४ नं. बाहेकका वडाका आधारभूत र मावि तहका विद्यालयलाई ३७ थान स्मार्ट बोर्ड, ३२२ थान बेन्च, १८–१८ हजार थान कापी र पेन्सिल वितरण गरिएको हो । त्यसबाहेक अंग्रेजी माध्यममा पठनपाठन भइरहेको मावि पडरिया थारुटोल (लहान १२) र लक्ष्मण ललिता मावि रघुनाथपुर (लहान ३)  लाई ३२–३२ थान सिसिक्यामेरा उपलब्ध गराइएको शिक्षा शाखाका अमिरी यादवले जानकारी दिए । 

आधारभूत तहका विद्यालयमा बालकक्षा व्यवस्थापनसहित तल्लो कक्षादेखि नै सूचना प्रविधिमैत्री पठनपाठनमा जोड दिँदै गरिब विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी कापी पेन्सिल उपलब्ध गराइएको उनले बताए । ‘गत आर्थिक वर्ष ०८१/८२ मा नमुनाका लागि पाइलट परियोजनाको रूपमा नगर क्षेत्रका ११ वटा विद्यालयमा उपलब्ध गराउँदै गएको कापी–पेन्सिल यसपल्ट नगर क्षेत्रका सबै विद्यालयलाई उपलब्ध गराउँदै छौँ,’ उनले भने ।

सामाजिक विकास र सुशासनमा फड्को
स्मार्ट बोर्डसहितका शैक्षिक सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख महेशप्रसाद चौधरीले गरिब, किसान मजदूरका छोराछोरीले पनि सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा पाउन सकून् भन्ने उद्देश्यले नगरपालिकाले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए। ‘विकासको नाममा ठुल्ठुला भवन र फराकिलो सडक बनाउनुभन्दा सामुदायिक विद्यालयलाई आधारभूत तहदेखि नै प्रविधिमैत्री बनाउँदै गुणस्तरीय पठनपाठनका लागि नगरपालिका गम्भीर छ,’ उनले भने। 

आगामी आवको बजेटमा विशेष अनुदानअन्तर्गत प्राप्त हुने एक करोड ७५ लाख रुपैयाँ बजेट पनि सामुदायिक विद्यालयको सूचना प्रविधि पूर्वाधार र शैक्षिक सामग्रीमा लगानी गरिने उनले बताए। नगरका प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद भुर्तेलले नगरले शिक्षामा उच्च लगानी गरेको चर्चा गर्दै त्यसले सामजिक विकासमा फड्को मार्नुका साथै सुशासन पनि राम्रो हुने भएकाले आगामी वर्षको बजेट त्यसमै केन्द्रित रहेको उल्लेख गरे ।

‘डिजिटल पूर्वाधारले विद्यालयलाई नयाँ खोज र अनुसन्धानमा आधारित शिक्षण सिकाइसँग जोड्छ,’ उनले भने, ‘त्यसले बालबालिकालाई विद्यालयमा टिकाउन, नियमितताको वातावरण बनाउन र सिकाइ उपलब्धि बढाउन सघाउँछ ।’ त्यसका लागि स्थानीय समुदायसँग पनि निरन्तर सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यसले दिगो शैक्षिक विकासमा योगदान पुर्याउने धारणा व्यक्त गरे ।

नगर उपप्रमुख रामचरित्र महतोले नगरको शैक्षिक विकासका लागि प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्न आग्रह गरे। ‘त्यसबाहेक विद्यार्थीको सरसफाइमा पनि ध्यान दिन जरुरी छ,’ उनले भने। मावि झिरहरी गोविन्दपुरका प्रधानाध्यापक नारायणप्रसाद साहले प्रायः गरिब विपन्न परिवारका विद्यार्थी पढ्ने सामुदायिक विद्यालयलाई नगरपालिकाले गरिरहेको सहयोगले सिकाइ उपलब्धि र विद्यालय तहको वार्षिक परीक्षाको नतिजामा उल्लेखनीय सुधार भएको औँल्याए । 

नगर शिक्षा शाखाका अनुसार नगर क्षेत्रमा पर्ने २४ वटा वडामा १५ मावि तह, सात वडा कक्षा आठसम्म पढाइ हुने आधारभूत र ३७ वटा कक्षा पाँचसम्मको आधारभूत तह गरी ५९ वटा समुदायिक विद्यालय सञ्चालनमा छन् । 

सुझावित समाचार