धनकुटाका दुई स्थानीय तहमा शनिबार र आइतबार कार्यालय खुल्ने

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा धनकुटाका दुई स्थानीय तहले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै शनिबार र आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएका छन्।

आर्थिक वर्ष सकिन लाग्दा जनताका कामहरूको चाप धेरै हुने भएपछि धनकुटाको पाख्रीबास नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले शनिबार र आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएका हुन् । गृह मन्त्रालयले इन्धन खपतका लागि भन्दै शनिबार र आइतबार सरकारी बिदा दिँदै आएको छ ।

तर, चालू आर्थिक वर्षको अन्तिम चरणमा विकास आयोजना तथा कार्यक्रमहरूको फर्स्याेट, राजस्व संकलन, सम्पन्न योजनाहरूको भुक्तानीलगायत आर्थिक र प्रशासनिक कामहरू सम्पन्न गर्न भन्दै पाख्रीबास नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले असार २० गते शनिबार र २१ गते आइतबार पालिकाभित्रका कार्यालय सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील पौडेलद्वारा जारी सूचनामा कार्यपालिकाको बैठकले पाख्रीबासका १० वटै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, आरोग्य केन्द्रलगायतका कार्यालयहरू दैनिक सामान्य रूपमै सञ्चालन गरिने ती पालिकाहरूद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीन योङहाङ लिम्बूद्वारा जारी सूचनामा भोलि शनिबार र आइतबार छथरजोरपाटी गाउँपालिकाका ६ वटै वडा कार्यालयहरू, कार्यपालिकाको कार्यालय खुला रहने उल्लेख गरिएको छ । छथरजोरपाटी गाउँपालिकाले २० गतेभित्र बजेट ल्याउने तयारी पनि गरिरहेको छ ।

सुझावित समाचार