बर्ड फ्लु प्रभावित किसानलाई ५० करोड निकासा

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्ड फ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ।

मन्त्रालयले बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अन्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम रकमान्तर गरेर विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लुका कारण आर्थिक क्षति व्यहोरेका किसानलाई राहत उपलब्ध गराउन विभागले मन्त्रालयसँग बजेट माग गरेको थियो।

पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार निकासा गरिएको रकमबाट प्रभावित किसानलाई प्रमाणित क्षतिको आधारमा ७५ प्रतिशतसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।

विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा हालसम्म करिब सात लाख पन्छी, ११ लाख अन्डा तथा तीन लाख किलोग्राम दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

बर्ड फ्लु रोग नियन्त्रण (चौथो संशोधन) निर्देशिका, २०७४ अनुसार प्रमाणित क्षतिको मूल्यांकनपछि नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको ७५ प्रतिशतसम्म क्षतिपूर्ति सम्बन्धित किसानलाई उपलब्ध गराउने व्यवस्था रहेको छ।

गत चैतदेखि पूर्वी नेपालबाट फैलिन सुरु भएको बर्ड फ्लु संक्रमण हाल ११ जिल्लामा फैलिएको छ।

सुझावित समाचार