जिडब्लुएम ओरा ५ लाई ‘डिजाइन अफ दी इयर’ अवार्ड

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

जिडब्लुएमको नयाँ विद्युतीय एसयुभी ओरा ५ ले प्रतिष्ठित २०२५ लन्डन डिजाइन अवार्डस्अन्तर्गत प्रोडक्ट डिजाइन– अटोमोबाइल्स–भेहिकल्स विधामा ‘डिजाइन अफ दी इयर’ उपाधि जितेको छ ।

यो सम्मानले ओरा ५ को आकर्षक बाह्यस्वरूप मात्र नभई, अत्याधुनिक प्रविधि, प्रयोगकर्ताकेन्द्रित सोच तथा स्मार्ट गतिशीलताप्रतिको दृष्टिकोणलाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गरेको कम्पनीको दाबी छ । नेपालका लागि जिडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालि रहेको छ । 

‘प्राकृतिक सौन्दर्य’को अवधारणामा आधारित ओरा ५ ले ‘प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित’ भन्ने मूल सोचलाई आत्मसात् गर्दै जैविक प्रेरणाबाट विकसित बाह्य बनावट, आकर्षक वक्राकार संरचना, पानीको थोपा शैलीका अगाडिका बत्ती तथा एकीकृतपछाडिका बत्तीमार्फत आधुनिक सौन्दर्य र प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गरेको बताइएको छ । कम्पनीका अनुसार यसमा कफी पाइलट अल्ट्रा बुद्धिमान ड्राइभिङ प्रणाली, कफी ओएस ३ स्मार्ट ककपिट, बलियो स्टिल संरचना, सातवटा एयरब्याग तथा अन्तर्राष्ट्रिय पाँचतारे एएनक्याप र पाँचतारे युरो एनक्याप सुरक्षा मूल्यांकन प्राप्त सुरक्षा प्रणाली समावेश छन् । 

ओरा ५ ले एकपटकको पूर्ण चार्जमा अधिकतम पाँच सय २० किलोमिटरसम्मको यात्रा क्षमता, दुई सय मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली, ३६० डिग्री क्यामरा, १८० डिग्री च्यासिस दृश्य क्यामरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ तथा प्रिमियम इन्टेरियरसहित आधुनिक र सुरक्षित विद्युतीय ड्राइभिङ अनुभव प्रदान गर्छ । यसको मूल्य ४६ लाख ९९ हजारबाट सुरु हुने कम्पनीले जनाएको छ ।

सुझावित समाचार