घुमघाममा निस्कन्छन् ५२% नेपाली, एक वर्षमा खर्चन्छन् साढे चार खर्ब

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण
  • आन्तरिक पर्यटकले लामो भ्रमणमा  तीन खर्ब चार अर्ब ४४ करोड तथा सोही दिने फर्कने भ्रमणमा ९० अर्ब ९८ करोडबराबर खर्च हुने 
  • बाह्य लामो भ्रमणमा ४७ अर्ब ९७ करोड र सोही दिन फर्किने भ्रमणमा १५ अर्ब ६७ करोड खर्च 

नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा चार खर्ब ५९ अर्ब पाँच करोड रुपैयाँबराबर खर्च गर्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले पहिलोपटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ को नतिजा बिहीबार सार्वजनिक गर्दै यस्तो बताएको हो । सर्वेक्षणले आन्तरिक पर्यटनअन्तर्गत रात बिताउने भ्रमणमा तीन खर्ब चार अर्ब ४४ करोड तथा सोही दिने फर्कने गरी हुने भ्रमणमा ९० अर्ब ९८ करोडबराबर खर्च हुने अनुमान गरेको छ । त्यस्तै, बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा ४७ अर्ब ९७ करोड र सोही दिन फर्किने भ्रमणमा १५ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको देखिन्छ । उद्देश्यगत रूपमा स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा कुल खर्चको ३१.७८ प्रतिशत खर्च भएको छ, जुन सबैभन्दा धेरै हो । खर्चका शीर्षकमध्ये किनमेलमा सबैभन्दा धेरै २६ प्रतिशत हुने गरेको छ । सर्वेक्षणले सार्वजनिक यातायात आन्तरिक पर्यटनको मुख्य माध्यम रहेको पुष्टि गरेको छ ।

तीन लाख नेपाली विदेश भ्रमणमा 
सन्दर्भ अवधि ०८१ असोजदेखि ०८२ भदौसम्मको अवधिमा करिब तीन लाख नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा उल्लेख छ । त्यसमध्ये कुल दुई लाख ९३ हजारले सोही दिन फर्कने गरी बाह्य भ्रमण गरेको देखिएको छ । ६ लाख २० हजारले भने रात बिताउने गरी बाह्य भ्रमण गरेका छन् । सोही दिन फर्कने गरी बाह्य भ्रमणमा जानेको मुख्य गन्तव्य भने भारत रहेको तथा उद्देश्य किनमेल रहेको छ । जसको हिस्सा ६३ प्रतिशत रहेको छ । रात बिताउने गरी बाह्य घुमफिरमा जानेमध्ये ४० प्रतिशत किनमेल र १९.६ प्रतिशत धार्मिक यात्रामा जाने गरेको पाइएको छ । बाह्य भ्रमणलाई मौसमी सिजनअनुसार हेर्दा कात्तिकदेखि पुससम्म सबैभन्दा धेरैको रोजाइमा पर्ने गरेको छ । प्रदेशगत रूपमा मधेश प्रदेशबाट भारतमा एक दिनको भ्रमण धेरै हुने गरेको छ । भारततर्फ गरिने सोही दिन फर्कने भ्रमणमा कुल खर्चको ७० प्रतिशत किनमेलमा हुने गरेको छ । 

५२ प्रतिशत परिवार पर्यटकीय गतिविधिमा संलग्न 
आन्तरिक पर्यटन सर्वेक्षणले ५२.४ प्रतिशत घरपरिवारले एक वर्षको अवधिमा कम्तीमा एकपटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखाएको छ । त्यसैगरी, ४७.६ प्रतिशत घरपरिवारले कुनै पनि प्रकारको पर्यटकीय भ्रमण नगरेको पाइएको छ । यसले नेपालको आधाभन्दा बढी घरपरिवार प्रत्यक्ष रूपमा पर्यटन गतिविधिमा सहभागी रहेको देखाउँछ । पर्यटक घरपरिवारको औसत सदस्य संख्या राष्ट्रियस्तरमा ३.९४ रहेको छ । ग्रामीण क्षेत्रमा यो संख्या ४.९२ रहेको छ भने सहरी क्षेत्रमा ३.८७ रहेको छ ।

जिडिपीमा योगदान डेढ खर्ब
नेपालको कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक पर्यटनबाट एक खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँबराबरको योगदान भएको सर्वेक्षणले देखाएको छ । पर्यटन स्याटेलाइट लेखाको ढाँचाअनुसार आन्तरिक पर्यटनबाट चार खर्ब सात अर्ब १७ करोडबराबरको उपभोग गरेको अनुमान छ । सर्वेक्षणअनुसार आन्तरिक पर्यटनले आव २०२४/२५ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ५४ खर्ब ५४ अर्बमा २.६५ प्रतिशतबराबर योगदान रहेको देखिएको छ ।

आन्तरिक पर्यटन प्रमुख उद्देश्य किनमेल 
सोही दिन फर्किने आन्तरिक भ्रमणको प्रमुख उद्देश्य किनमेल रहेको सर्वेक्षणमा उल्लेख छ ।  जसको हिस्सा ३२.६ प्रतिशत रहेको छ । त्यसपछि स्वास्थ्य उपचार तथा साथीभाइ र आफन्त भेटघाट गर्न २० प्रतिशतले भ्रमण गर्ने गरेका छन् ।

रात बिताउने गरी आन्तरिक भ्रमण गर्नेहरूमा आफन्त भेटघाट प्रमुख उद्देश्यका रूपमा देखिएको छ, जसको हिस्सा ६५.५ प्रतिशत रहेको छ ।  रात बिताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन रहेको छ । एक पर्यटकले वर्षभरिमा औसत ४.८१ पटक यस्ता भ्रमण गर्ने गरेको देखिएको छ । प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा लामो औसत बसाइ अवधि ८.१८ दिन रहेको छ । मधेश प्रदेशमा पनि औसत बसाइ अवधि ८.१८ दिन नै रहेको छ । भ्रमण आवृत्तिको दृष्टिले गण्डकी प्रदेश सबैभन्दा अगाडि वार्षिक औसत भ्रमण संख्या ६.२६ पटक रहेको छ । सुदूरपश्चिम प्रदेशमा भने यो संख्या ३.३२ पटक रहेको छ ।

भ्रमणको उद्देश्यअनुसार शिक्षा तथा तालिमका लागि गरिने यात्रामा सबैभन्दा लामो बसाइ औसतमा ९.१६ दिन रहेको छ । वार्षिक भ्रमण आवृत्तिका आधारमा व्यावसायिक भ्रमण सबैभन्दा बढी  औसत ६.९ पटक हुने गरेको छ भने बिदा तथा मनोरञ्जनसम्बन्धी भ्रमणको औसत आवृत्ति ३.०२ पटक रहेको छ । रात बिताउने आन्तरिक पर्यटनका प्रमुख गन्तव्य जिल्लामा काठमाडौं, चितवन तथा कास्की रहेका छन् । मनोरञ्जन तथा बिदा मनाउन गरिने भ्रमणमा कास्की सबैभन्दा अगाडि रहेको सर्वेक्षणले देखाएको छ ।

जेनेरेसन जेड पुस्ता बढी घुमघाममा 
पर्यटक घरपरिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ । जेनेरेसन जेड (१३–२८ वर्ष)को हिस्सा २६.६ प्रतिशत रहेको छ । त्यसपछि जेनेरेसन अल्फा तथा बिटा (०–१२ वर्ष)को हिस्सा २२.६ प्रतिशत तथा जेनेरेसन वाई (२९–४४ वर्ष)को हिस्सा २२.० प्रतिशत रहेको छ । सर्वेक्षणमा दुई चरणको स्तरीकृत नमुना छनोट विधि प्रयोग गरिएको थियो । पहिलो चरणमा आकारको समानुपातिक सम्भाव्यता विधिबाट प्राथमिक छनोट एकाइ चयन गरिएको थियो भने दोस्रो चरणमा प्रत्येक गणना क्षेत्रबाट १२ घरपरिवार छनोट गरिएको थियो । यसरी देशभरका चार सय ४४ गणना क्षेत्रबाट कुल पाँच हजार तीन सय २८ घरपरिवारलाई नमुनामा समेटिएको थियो । 

See More On

सुझावित समाचार