शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्वमा खेलाडीलाई नै प्राथमिकतामा राख्ने बताएका छन्।
बिहीबारको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले एन्फालाई राजनीतिक भर्ती केन्द्र बन्न नदिने र फुटबलप्रेमी तथा खेलाडीलाई नेतृत्वमा ल्याउने बताएका हुन्।
पोखरेलले एन्फामाथि फिफाले लगाएको निलम्बनका कारण सबैलाई चिन्ता भएको बताउँदै यो अवस्थाबाट कुरूप हुने स्थान पनि नरहेको तर्क गरे। ‘एन्फा निलम्बन हुँदा सबैलाई चिन्ता लागेको छ। योभन्दा तल जाने स्थान नै छैन,’ उनले भने, ‘अबको एन्फामा फुटबलप्रेमीलाई राखेर सुधार गर्छौँ। खेलाडी नै राख्छौँ। राजनीतिक भर्ती केन्द्र हुँदैन।’
उनले एन्फाभित्र भएको विभिन्न भ्रष्टाचारविरुद्ध उजुरी परेको जनाउँदै छानबिन हुने पनि प्रस्ट पारे। एन्फा १२ असारमा निलम्बन भएपछि फिफा र एएफसीका प्रतिनिधिसँग छलफल भइरहेको र चाँडै निकास निस्कने उनको भनाइ थियो।