नेप्से आठ अंकले बढ्दा कारोबार रकम चार अर्बमाथि

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

बिहीबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ। नेप्से ८.७८ अंकले बढेर दुई हजार ६६१.७१ विन्दुमा कायम भएको हो। लगातार सात दिन घटेको नेप्से बुधबार ४४ अंकले वृद्धि भएको थियो।

आज ८९ लाख ६४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। अघल्लिो दिन तीन अर्ब ८६ करोडको सेयर किनबेच भएको थियो।

बिहीबार बैंक समूह २.०४ प्रतिशतले उकालो लाग्दा वित्त, जीवन बिमा, लघुवित्त र म्युचल फन्ड एक प्रतिशतभन्दा थोरैले वृद्धि भएका छन्। बाँकी समूहमा एक प्रतिशतभन्दा कमको गिरावट आएको छ।

बजार बढेको दिन आज अपर लाहोरे खोला, कलंगा हाइड्रो र स्नो रिभर्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सानिगढ हाइड्रो र धौलागिरि लघुवित्त क्रमशः १४ र १३ प्रतिशतभन्दा धेरैले बढेका छन्।

एनआइसी एसिया डिबेन्चरका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै गुमाएका छन्। भुजुङ हाइड्रो नौ तथा सामुदायिक लघुवित्त र सिवाइसी लघुवित्त सात प्रतिशतभन्दा धेरैले घटेका छन्।

कारोबार रकम र कारोबार सेयर संख्याका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छन्। सो कम्पनीको १९ लाख १७ हजार कित्ता सेयर ४१ करोड ३२ लाख २४ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।
 

सुझावित समाचार