यातायात व्यवस्था कार्यालय वीरगन्जमा मंगलबार मोटरसाइकलको नामसारी गराउन पुगेका एक सेवाग्राही प्रहरी नियन्त्रणमा परेका छन्।
वीरगन्ज महानगरपालिका– १२ निवासी रामकुमार महतोले खरिद गरेको मोटरसाइकलको नामसारी गराउन यातायात कार्यालय पुगेर प्रक्रिया अगाडि बढाउन कर्मचारीसँग आग्रह गर्दा उनी प्रहरी नियन्त्रणमा परेका हुन्।
सेवाग्राही महतोले नागरिकताको प्रतिलिपि र लाइसेन्सका आधारमा नामसारी गरिदिन कर्मचारीसँग अनुरोध गरेपछि फाँट प्रमुख प्रेम कार्कीले प्रहरी बोलाएर उनलाई पक्राउ गराएको बताइएको छ।
महतोले गोपाल बस्नेतको मोटरसाइकल खरिद गरेको र नागरिकताको प्रतिलिपि रहेको भन्दै नामसारी गर्न आग्रह गरेका थिए। त्यसपछि फाँट प्रमुख कार्कीले आफूलाई दबाब नदिन भन्दै महतोलाई पक्राउ गराएको बताइएको छ।
नागरिक एपमा रहेका कागजातका साथै नागरिकता र लाइसेन्सका सबै प्रतिलिपि देखाउँदा पनि फाँट प्रमुख कार्कीले नामसारी हुन नसक्ने भन्दै उनलाई प्रहरीको जिम्मा लगाएको आरोप छ।
स्रोतका अनुसार, यातायात कार्यालयबाट पक्राउ गरिएका सेवाग्राही महतोलाई राति सहमतिमा छाड्न नमानेपछि प्रहरीले मुद्दा चलाएको हो।
यातायात व्यवस्था कार्यालय वीरगन्जमा काम गराउन आएका सेवाग्राहीले होहल्ला गरेपछि अभद्र व्यवहार मुद्दा चलाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए।
प्रहरी निरीक्षक थापामगरका अनुसार पक्राउ परेका महतोले सेवाग्राहीलाई काम गर्न समस्या पारेको तथा होहल्ला गरेकाले नियन्त्रणमा लिइएको हो। उनीमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको उनले बताए।