एकताभन्दा कम्युनिस्ट पार्टीहरूको सहकार्य आवश्यक छ : संयोजक प्रचण्ड

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताभन्दा कम्युनिस्ट पार्टीहरूको सहकार्य आवश्यक रहेको बताएका छन् । 

पार्टीको गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले हाल कम्युनिस्ट घटकहरूबिचमा तत्काल एकता गर्नुभन्दा पनि सहकार्य आवश्यक रहेको बताएका हुन् ।

सहकार्यका क्रममा विचार, नीति र कार्यशैली समान देखिएमा मात्र त्यसपछि न्यूनतम आधारमा पार्टी एकीकरण हुने उनको भनाइ थियो । पार्टीहरूसँग सहकार्य गर्ने क्रममा विचार, भावना मिल्दै गएको अवस्थामा मात्र पहिलाकै जस्तो हुँदैन भन्ने न्यूनतम कुराको ग्यारेन्टि नगरी पार्टी एकता नहुने प्रचण्डले प्रस्ट पारेका थिए । कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउन विचारमा परिवर्तन आवश्यक रहेको भनाइ प्रचण्डको थियो ।

विगतमा नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गरिएको बताउँदै प्रचण्डले आवश्यकताअनुसार जो–कसैसँग राजनीतिक सहकार्य हुन सक्ने संकेत गर्दै गरिएको सहकार्य देश र जनताको हितलाई ध्यानमा राखेर हुने बताएका थिए ।

नयाँ पार्टी बनाउनका लागि नयाँ वर्ग, संघर्ष सुरु गर्ने भन्दै प्रचण्डले आफूले पार्टी नेतृत्व छोडेर रूपान्तरण हुन्छ भने छोड्न तयार रहेको बताएका थिए । मञ्चमा सँगै रहेका माधवकुमार नेपाललाई देखाउँदै एकताका लागि हामीबिचमा धेरै कुरा भएकाले नेतृत्वमा हामी नै बस्नुपर्छ भन्ने मोह नरहेको भनाइ उनको थियो । नयाँ विधि, नीति र प्रक्रियाबाट नयाँ नेताहरूको टिम निर्माण गर्नुपर्छ भनेर आफूहरूले भन्दै आएको र त्यसका लागि लागेको उनले बताएका थिए ।

राष्ट्रिय स्वाधीनताको विषयमा हाल संकट देखापरेकाले देशभक्त, लोकतन्त्रवादी र वामपन्थीहरूबिचमा सहकार्य आवश्यक रहेको भनाइ प्रचण्डको थियो । विद्यार्थी, ट्रेड युनियन, सुकुमवासी, सीमा, मधेशलगायतका विषयमा र मुद्दामा जनभावनाविपरीत काम भइरहेको आरोप प्रचण्डको थियो ।

अर्को प्रसंगमा प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा अन्तरिम सरकार गठन प्रक्रिया अघि बढेको भए पनि संसद् विघटनको पक्षमा भने आफूहरू नरहेको बताएका थिए । ओलीको सिफारिस देखेपछि अन्तरिम सरकार स्वीकार गर्दै देशलाई अर्को दुर्घटनातर्फ जानबाट बचाउनका लागि निर्वाचन स्वीकार गरेको प्रचण्डले बताएका थिए ।

अर्को प्रसंगमा प्रचण्डले जेन–जी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएकोसमेत बताएका थिए ।  पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशको अस्तित्व, स्वाधीनता र हालसम्म प्राप्त गरेका उपलब्धिहरू जोगाउन र बचाउनका लागि अगाडि बढ्न आवश्यक रहेको बताए ।

पार्टीले देशभक्त, लोकतन्त्रवादी शक्तिहरू गणतन्त्रवादी शक्तिहरू, सबै परिवर्तनकारी शक्तिहरू, अन्य वामपन्थी शक्तिहरूसँग हातेमालो, सहकार्य गर्ने क्रममा मन र विचार मिले एकता हुने बताएका थिए । तर, त्यो आजको टाउकोदुखाइको विषय नभएको भन्दै आजको टाउकोदुखाइको विषय भनेको पार्टीलाई बलियो बनाउने विषय रहेको नेपालले बताएका थिए । मंसिरमा महाधिवेशन गर्ने गरी पार्टीले  तयारी गरेको र त्यसपछि आउँदो जेठमा पालिका र प्रदेशको चुनावको सम्भावना रहेकाले अहिलेदेखि नै पालिकादेखि पार्टीको अवस्थालाई बलियो बनाउने गरी अगाडि बढ्न आवश्यक रहेको भनाइ राखेका थिए ।

सुझावित समाचार