नेपाली चिया निर्यातमा भारतले लगाउँदै आएको प्रतिबन्ध मंगलबारदेखि हटेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । भारतीय चिया बोर्डले १ मेदेखि नयाँ मापदण्डको नाममा लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी)अन्तर्गत नेपालबाट निर्यात हुने चियामा अवरोध गर्दै आएको थियो ।
निर्यात ठप्प भएपछि झापाका ३० वटा सिटिसी र इलामका ६५ वटा अर्थाेडक्स चिया उद्योगहरू गत असार पहिलो सातादेखि पूर्ण रूपमा बन्द गरिएका थिए । उद्योग मन्त्रालयका अनुसार अब गुणस्तर परीक्षण वा अन्य कुनै पनि बहानामा नेपाली चिया निकासीमा अवरोध नहुने भारतीय पक्षसँग सहमति बनेको छ । इलाममा रहेको सूर्याेदय अर्थाेडक्स टी प्रोड्युसर्सका प्रवक्ता बुद्धभूषण तामाङले सरकारले सहमति गरे पनि भारत निर्यात पूर्ण रूपमा नखुलेको बताए । तर, भन्सार भएर फाट्टफुट्ट चियाको गाडी जान थालेको उनको भनाइ छ । उनले भने, ‘भारतीय बजारसम्म पुर्याइराखौँ भनेर पठाउन थालिएको हो ।’
चिया निर्यातमा समस्या हुँदा करिब ११ लाख केजी चिया गोदाममै थन्क्याउनुपर्ने बाध्यतामा चियाँ उद्योगी थिए । १९ मेमा भारतको टी बोर्डले सूचना जारी गर्दै आन्तरिक खपत हुने चियालाई केही खुकुलो गरेको थियो । एसओपी संशोधन गरेपछि ‘र्यान्डम’ नमुना संकलन गरेर परीक्षण गर्ने गरी नयाँ नियम ल्याएको थियो ।