तीन महिनापछि ठुलो अंकमा घट्यो इन्धनको मूल्य

पेट्रोल २०, डिजेल–मट्टीतेल ३० तथा हवाई इन्धन ४० रुपैयाँ प्रतिलिटर मूल्य घटाएको निगमले प्रतिसिलिन्डर १ सय रुपैयाँ घटायो ग्यासको भाउ

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल २०, डिजेल तथा मट्टीतेल ३० र हवाई इन्धन ४० रुपैयाँ प्रतिलिटरले भाउ घटाएको छ । खाना पकाउने एलपी ग्यास एक सय रुपैयाँ प्रतिसिलिन्डर घटेको छ ।मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ९७, डिजेल तथा मट्टीतेल एक सय ९५ र आन्तरिक हवाई इन्धन दुई सय २९ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास दुई हजार ६० रुपैयाँ प्रतिसिलिन्डर कायम भएको छ ।

मंगलबार दिउँसो भने इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल १५.०९ र डिजेल २९.४६ रुपैयाँ प्रतिलिटर घटेर आएको थियो । त्यस्तै, हवाई इन्धन २९.४२ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास करिब चार सय रुपैयाँ प्रतिसिलिन्डर घटेर आएको थियो । पेट्रोल र डिजेलको भाउ भारतबाट घटेर आएकै मूल्यअनुसार नेपालमा समायोजन भएको छ ।

ग्यासमा भने अझै पनि घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि ग्यासमा प्रतिसिलिन्डर आठ सय रुपैयाँभन्दा बढी घाटा रहेका कारण तत्काल आइओसीले घटेर पठाएको मूल्यअनुसार नेपालमा समायोजन नभएको निगमको भनाइ छ । मध्यपूर्वको युद्धयता निरन्तर मूल्यवृद्धि गरेको निगमले युद्ध रोकिएर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि सोहीअनुसार समायोजन गरेको हो । मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि सोहीअनुसार समायोजन गरेको निगमले जनाएको छ ।

मध्यपूर्वयता १ चैतबाट निगमले मूल्य बढाउन थालेको थियो । यसबिचमा ६ पटक गरेर पेट्रोल ६२ रुपैयाँ र डिजेल तथा मट्टीतेल ९५ रुपैयाँ प्रतिलिटर महँगिएको थियो । तर, १६ वैशाखमा पेट्रोल दुई र डिजेल १२ रुपैयाँ घटाएयता निगमले मूल्य स्थिर राखेको थियो । 

ठुलो अन्तरले खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको साँझ बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय लिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । मध्यपूर्व युद्धका वेला उच्च विन्दुमा पुगेको कच्चा तेलको भाउ अहिले ३५ प्रतिशत घटिसकेको छ । युद्ध जारी रहेका वेला २१ वैशाखमा कच्चा तेलको भाउ उच्चतम विन्दु एक सय १४ डलर प्रतिब्यारेल पुगेको थियो । त्यसयता घटेर मंगलबार साँझ ७४ डलर प्रतिब्यारेलमा आइपुगकेको छ । यो भनेको ३५ प्रतिशतको गिरावट हो । 

मूल्य घट्ने अनुमानमा देशभरका पेट्रोलपम्पले उठाएनन् तेल
मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घट्ने अनुमान गर्दै देशभरका पेट्रोलपम्प व्यवसायीले आयल निगमबाट तेल नै नउठाएको पाइएको छ । केही पम्पले भने दैनिक खपतको तुलनामा निकै न्यून मात्रामा तेल उठाएका छन् । नियमित कार्यतालिकाअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मंगलबार दिउँसो नयाँ खरिद मूल्य आउने र निगमले मूल्य घटाउने पम्प व्यवसायीले आंकलन गरको थिए । त्यसैले, महँगोमा किनेर सस्तोमा बेच्नुभन्दा पम्प व्यवसायीले सरसल्लाह गरेर आयल निगमको कतिपय डिपोबाट मंगलबार तेल नै उठाएनन् भने केही डिपोबाट न्यून परिमाण मात्रै उठाएका छन् ।

व्यवसायीले अनुमान गरेजस्तै आइओसीबाट मंगलबार दिउँसो नयाँ मूल्य आएको छ र रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न आयल निगमको सञ्चालक समिति बैठक साँझ ६ बजे डाकिएको थियो । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष विश्व अर्यालले अन्तर्राष्ट्रिय बजारमूल्य विश्लेषण गर्दा आइओसीले ठुलै दरमा मूल्य घटाएर पठाउन सक्ने अनुमान गरेको बताए ।

‘व्यवसायीले मूल्य घट्ने आ–आफ्नो विश्लेषण गरेर निगमको डिपोबाट तेल नउठाएको हुन सक्छ,’ उनले भने, ‘तर, बजारमा अभाव हुन दिने अवस्था रहनेछैन ।’ मूल्य कुन दरमा घट्ने वा बढ्ने भन्नेबारेमा आयल निगमका कर्मचारीले समेत सूचना चुहाउने गरेका छन् । गत चैतमा मूल्य बढ्ने वेला पनि कर्मचारीको मिलेमतोमा ठुलो मात्रामा तेल बिक्री भएको थियो । सो घटनालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेको छ । मुल्य घट्ने बेलामा पनि यस्तै सूचना बाहिरिएकाले पेट्रोलपम्पमा तेल नै नगएको हुन सक्ने अनुमान गरिएको छ । तर, अध्यक्ष अर्यालले भने मूल्य घट्ने सूचना कर्मचारीबाट लिनुपर्ने आवश्यकता नै नरहेको बताए । ‘अन्तर्राष्ट्रिय ट्रेन्ड  र हाम्रा बाह्य च्यानलहरूमार्फत नै नयाँ मूल्यबारे अनुमान लगाउन सक्छौँ । त्यसैले, आयल निगमका कर्मचारीबाट सूचना लिने–दिने भन्ने कुरै आउँदैन,’ उनले भने । 

बागमती प्रदेशमा इन्धन वितरण गर्ने आयल निगमको थानकोट डिपोले सामान्य अवस्थामा दैनिक १५ लाख लिटर पेट्रोल र डिजेल बिक्री गर्ने गरेको छ । तर, मंगलबार पेट्रोल एक लाख ८१ हजार र डिजेल ६६ हजार लिटर गरेर करिब अढाई लाख लिटर मात्रै बिक्री गरेको डिपो प्रमुख जगदीश यादवले जानकारी दिए । 

सुझावित समाचार